भारतीय पत्रकार राना अय्यूबलाई बलात्कार र हत्याको धम्की, प्रहरीमा उजुरी दर्ता

आफूलाई दुर्व्यवहार गर्नेगरी पठाइएका २६ हजार भन्दा बढी ट्‌वीट सहित पत्रकार अय्यूब प्रहरी कार्यालय पुगेपछि बल्ल उजुरी दर्ता भएको हो।

नेपालभ्युज

भारतीय पत्रकार राना अय्यूबलाई बलात्कार र हत्याको धम्की, प्रहरीमा उजुरी दर्ता

नयाँ दिल्ली। भारतीय पत्रकार राना अय्यूबलाई ट्‌वीटर र इन्स्टाग्राममा हत्या र बलात्कारको धम्की दिएको विरूद्धमा मुम्बई प्रहरीमा उजुरी दर्ता भएको छ। वास्तविक नाम लुकाएका चार जनाले त्यस्तो धम्की दिएको भन्दै प्रहरीको साइबर सेलमा उजुरी दर्ता भएको हो।

आफूलाई दुर्व्यवहार गर्नेगरी पठाइएका २६ हजारभन्दा बढी ट्‌वीटसहित पत्रकार अय्यूब प्रहरी कार्यालय पुगेपछि बल्ल उजुरी दर्ता भएको हो।

“आरोपितले अय्यूबलाई साउदी अरबमा प्रतिबन्ध लगाइएको भन्ने गलत समाचार पोस्ट गरेका छन् र उनलाई बलात्कारको धम्की दिएका छन्। चारओटा ट्‌वीटर र दुईओटा इन्स्टाग्राम एकाउन्टविरूद्ध शुक्रबार (१४ माघ)मा उजुरी दर्ता भएको छ”, एक डिपुटी कमिस्नरलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले लेखेको छ।

ट्‌वीटरमा गरिएको दुर्व्यवहार उल्लेख गर्दै २५ जनवरी (११ माघ)मा अय्यूवले ट्‌वीट गरेकी थिइन्- ‘२६ हजार चार ट्‌वीटमध्ये अधिकांशले मलाई आतंकको समर्थक भन्दै अपमानजनक, बलात्कार र हत्याका धम्की दिएका छन्। मैले यमनको पक्षमा ऐक्यबद्धता प्रकट गर्दै र साउदी अरब त्यहाँबाट निस्कनुपर्ने भन्दै ट्‌वीट गरेपछि गरिएका ती ट्‌वीटमध्ये अधिकांश भारतीय दक्षिणपन्थी र साउदी राष्ट्रवादीबाट गरिएका छन्।’

अय्यूबका ट्‌वीटरमा १५ लाख र इन्स्टाग्राममा तीन लाख २० हजार फलोअर्स छन्।

अय्यूबविरूद्ध यस्तो गलत प्रचारबाजी भएको यो पहिलोपटक होइन। २६ जनवरीमा पनि आफूलाई भारतीय सञ्चार संस्था दाबी गर्ने एक ह्यान्डल @thescoopbeats ले युट्युव भिडिओको लिंक ट्‌वीट गर्दै साउदी अरबले राना अय्यूबलाई प्रतिबन्ध गरेको झुटो प्रचार गरेको थियो।

युट्युवमा राखिएको १० मिनेट लामो भिडिओमा दुई जना महिलाको बातचित छ। जसको शीर्षकमा लेखिएको छ- ‘साउदीले राना अय्यूबलाई प्रतिबन्ध लगायो?’

अय्यूबले उक्त युट्युव च्यानलले आफ्ना पुराना ट्‌वीटको फोटो तोडमोड गर्दै प्रयोग गरिएको गुनासो गरेकी छन्।

मुम्बई प्रहरीले युट्युब भिडिओको पनि अनुसन्धान भइरहेको जनाएको छ।

द वायरबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved