म्याग्दीको मङ्गलामा २१ लाखको सुन्तला बिक्री

नेपालभ्युज

म्याग्दीको मङ्गलामा २१ लाखको सुन्तला बिक्री
फाइल तस्वीर ।

म्याग्दी । मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले सुन्तला बिक्री गरी रु २१ लाख आम्दानी गरेका छन्। बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तलाखेती बनेको छ। भेडाबारीका अगुवा किसान ओम गिरीले यसपाली झण्डै तीस हजार किलो सुन्तला बिक्री भएको जानकारी दिए। “पोखराका व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरेर लगे,” उनले भने, “सरदर रु ७० प्रतिकिलोका दरले सुन्तला बिक्री भयो ।” एउटा परिवारले सरदर रु एक लाखभन्दा बढी आम्दानी गरेको उनले बताए।

गत वर्ष रु १५ लाख बराबरको सुन्तला बिक्री भएको थियो। अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघको दोस्रो हप्तादेखि भेडाबारीको सुन्तला टिपेर बजार पठाउन थालिएको थियो। पाँच मुरी कोदो फल्ने बारीमा सुन्तलाखेती गरेर वार्षिक रु तीन लाखसम्म आम्दानी र्गो गरेको बेम गिरीले बताए।

“अन्नबालीभन्दा सुन्तलाबाट धेरै फाइदा छ,” उनले भने, “त्यही भएर मकै र कोदो लगाउन छाडेर सुन्तला लगाएका छौँ ।” उपयुक्त हावापानी र अनुकूल भूगोल भएकाले भेडाबारीमा सुन्तला खेती फस्टाएको हो । नयाँ बिरुवा थपिने क्रमसँगै बर्सेनि उत्पादन पनि बढेको छ । किसानले न्यूनतम एक सयदेखि ५०० बोटसम्म सुन्तलाखेती गरेका छन्। उनीहरुले बगैँचाभित्र तरकारी, अदुवा र बेसारखेती गरेर अतिरिक्त आम्दानी पनि गरिरहेका छन्।

सिँचाइ र सडक यातायातको समस्या भेडाबारी र भोर्लेनीको सुन्तला खेतीका लागि चुनौति बनेको छ। सुन्तला बिक्री र आवतजावतका लागि पोक हुँदै भेडाबारीसम्म निर्माण गरिएको सडक स्तरोन्नति हुनसकेको छैन्। भेडाबारीबाट सातबिसेसम्म गाडीमा ल्याएको सुन्तला म्याग्दी खोलामा पुल नभएकाले भरियामार्फत तोराखेतमा तारेर त्यहाँबाट गाडीमा राखेर बजार पठाउने गरिएको छ।

सुन्तला बगैंचामा सिँचाइ गर्न समस्या छ। लामो सुख्खा र खडेरीसँगै सुन्तला खेतीमा सिँचाइ पुर्याउन समस्या भएको स्थानीय गणेश गिरीले बताए। बाबियाचौरको माटेबगर र अर्मनको पोक जोड्ने मोटरेबल पुल निर्माण सम्पन्न गराउन पहल तथा समूहमार्फत भोर्लेनी र भेडाबारीमा सिँचाइ आयोजना निर्माणको तयारी भएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved