धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले धनगढीलाई बालमैत्री नगर बनाउने प्रतिवद्धता गरेको छ। बालबालिका तथा युवाको समग्र विकासका लागि नगरपालिकाले ५ बूँदे प्रतिवद्धता समेत व्यक्त गरेको छ।
शुक्रबार युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा धनगढीमा आयोजित स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाको सहभागिता विषयक अन्तक्रिया कार्यक्रममा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी, वडा नम्बर ८ का वडाध्यक्ष नारायण बराललगायत विभिन्न शाखाका शाखा प्रमुखहरूले संयुक्त प्रतिवद्धता व्यक्त गरेका हुन्।
अन्तर्क्रिया कार्यक्रममा सहभागी बालबालिका तथा युवाहरूले विभिन्न प्रश्न तथा गुनासो व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी नगर बाल सञ्जालकी अध्यक्ष लक्ष्मी जोशीले नगरपालिकाबाट बाल क्लबहरूको लागि बजेट विनियोजन नभएको गुनासो गरिन्। उनले बाल क्लबहरूले बजेट अभावकै कारण चाहे अनुसारको काम गर्न नसकेको बताइन्। यस्तै योजना तर्जुमा प्रक्रियामा बालबालिकाहरूको सहभागिता हुन नसकेको उनको भनाइ थियो।
कार्यक्रममा प्रविन चन्दले बाल क्लबहरूका योजनाहरू नगरको योजना पुस्तिकामा समावेश नहुने र स्थानीय योजना तर्जुमा आफुहरूलाई जानकारी समेत नहुने गुनासो व्यक्त गरे। अर्का सहभागी सुरज खड्काले बालबालिका तथा बिद्यार्थीहरूमा लागु औषध दुर्व्यसनीबाट समस्या बढ्दै गएकाले नगरपालिकाले यस विषयमा गम्भिर भएर सोच्नुपर्ने बताए।
Facebook Comment
Comment