‘एक वडा एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन

नेपालभ्युज

काठमाडौं । बागमती प्रदेश सरकारले आफ्नो साझा कार्यक्रमअन्तर्गत ‘एक वडा एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गरिरहेको छ। पशुपन्क्षी तथा मत्स्यमा लाग्ने रोग अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मुलनका लागि प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मातहतका कार्यालयमा उक्त कार्यक्रम संचालन गरिएको जनाएको हो।

पशु स्वास्थ्य क्लिनिक स्थापनाका लागि सम्बन्धित स्थानीय तहसगँ समन्वय गरी प्रस्ताव तयार गर्न मन्त्रालयले आफ्ना मातहतका कार्यालयलाई परिपत्र गरिसकेको सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए। उनका अनुसार कार्यक्रम सञ्चालन गर्न प्रत्येक वडामा पशु स्वास्थ्य प्राविधिक हुनुपर्ने, पशु स्वास्थ्य क्लिनिक स्थापनाका लागि वडाको आफ्नै जमिन हुनुपर्ने, पशुपन्छी पालनको घनत्व भएको क्षेत्र आदिको आधारमा वडा कार्यालयहरुबाट प्रस्ताव आउनुपर्ने गरी मातहतका कार्यालयहरुलाई निर्देशनसमेत दिइएको छ।

मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले यस कार्यक्रमवाट स्थानीय तहको वडासम्मै नै प्राविधिक सेवा विस्तार गर्न, पशु सेवालाई सहज, सरल, पहुचयोग्य बनाई छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग मिल्ने बताए। उनले ग्रामिण क्षेत्रमा पशु सेवा प्रदायक र कृषकहरु बीच दूरी कम गर्न पनि कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिरसमेत गरे।

मन्त्रालयले गत पुस १४ गते प्रदेशमा कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरणका लागि ५१ बुँदे मार्गचित्र सार्वजनिक गरेको थियो। सो मार्गचित्रमा पशु स्वास्थ तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसगँको समन्वयमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा जोड दिइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved