विराटनगर । बर्जु महोत्सव तोडफोड र आगजनी प्रकरणको बिस्तृत अनुसन्धानका लागि सुनसरी प्रशासनले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। बुधबार सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
समितिमा सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्की, सशस्त्र प्रहरी बल ४ नं. गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीलाई सदस्यको रुपमा राखिएको छ। समितिले ५ दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरि प्रमुख जिल्ला अधिकारी अनुुसन्धान प्रतिवेदन बुझाउने जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा सुनसरी प्रशासनको अनुमति बिना आयोजकले महोत्सवको आयोजना गरेकाले मंगलबार अप्रिय घटना भएको बताईएको छ। कोभिड संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै सुनसरी प्रशासनले महोत्सवमा रोक लगाएको अवस्थामा निर्देशन विपरीत महोत्सव गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
उनले तत्कालीन अवस्थामा २३ पुसमो महोत्सव आयोजनाको अनुमति दिइएको भएपनि पुस २६ गते गृह मन्त्रालयबाट जारी कोरोना संकट व्यवस्थापन समितिको कोरोना प्रोटोकोल पालना सम्बन्धी निर्देशन अनुसार सबैै कार्यक्रम र अनुमति खारेज गरिएको जानकारी दिए।
उनले भने ‘पहिले अनुमति दिइएको थियो। तर, गृह मन्त्रालयबाट निर्देशन आएपछि पुस २७ गते निर्णय गरेर २८ गते जिल्लाका सबै स्थानीय तहलाई उक्त निर्देशन पालना गर्न गराउन पत्राचार गरिएको थियो। उक्त पत्राचारसँगै माघ २ गतेको पत्रबाट बर्जु महोत्सवकोे रोक्न आयोजकलाई निर्देशन गरिएको थियो। तर, आयोजकले अटेर गरेपछि अप्रिय घटना घट्यो।’
सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा पुस २४ गतेदेखि बर्जु सामुदायिक विकास केन्द्रद्वारा तेश्रो बर्जु महोत्सवको आयोजना गरिएको थियो। मंगलबार महोत्सवको अन्तिम दिन आयोजकले भारतीय भोजपुरी कलाकार खेशारीलाल यादवलाई कार्यक्रममा निमन्त्रण गरेको थियो।
तर, कोभिड महामारीका कारण सुनसरी प्रशासनले महोत्सवमा रोक लगाएको थाहा पाएपछि उनी कार्यक्रममा सहभागी भएनन्। कलाकार यादवको पुर्वनिर्धारित साङ्गितिक कार्यक्रम रद्द भएपछि बिहानैदेखि रु. ३०० र ५०० का दर टिकट काटेर बसेका स्थानीय आक्रोशित भएका थिए, उनीहरूले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका थिए।
स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कर्पियो, मोटरसाईकल तथा साउण्ड सिस्टममा आगजनी गर्नुका साथै स्टेजका सामाग्री र कुर्सीहरु समेत तोडफोड गरेका थिए। स्थानीयको तोडफोडबाट झन्डै डेढ करोड बराबरको क्षति भएको बताइएको छ।
Facebook Comment
Comment