जनकपुरधाम : बलिदानी दिवसको अवसर पारेर मधेश सरकारले शहीद परिवारलाई जनही ३ लाख रुपैयाँ प्रदान गरेको छ। मधेश आन्दोलनका क्रममा शहिद भएका व्यक्तिका परिवारलाई बुधबार सप्तरीको राजविराजमा आयोजित चौथौ ’बलिदानी दिवस’का अवसरमा नगद सहित सम्मान गरिएको हो।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शहिद परिवारका सदस्यहरूलाई ३÷३ लाख रुपैयाँ सहित सम्मानपत्रबाट सम्मान गरे।
मधेस सरकारको आन्तरिक मामिला तथा संचार मन्त्रालयअन्तर्गत मधेसी शहीद प्रतिष्ठानले आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा मधेस आन्दोलनका जीउँदो शहिदको रुपमा मानिएका पर्साका मन्सी पटेलसहित घाइते र अंगभंग भएका ८१ जनालाई २५ हजारदेखि ३ लाख रुपैयाँसम्म रकम वितरण गरिएको सरकार प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री राउतले मधेस आन्दोलनको जगमा नै देशमा संघीयता आएको बताए। मुख्यमन्त्री राउतले मधेश आन्दोलनका क्रममा शहीद भएकाहरूको सपना मधेश प्रदेश रहेको बताए। उनले शहीदको सपना पूरा भएको भन्दै खुसी व्यक्त गर।
उनले मधेस आन्दोलनका शहीद परिवारलाई सरकारले रोजगारीको व्यवस्था गरिरहेको जनाउँदै रोजगारबाट बञ्चित रहेका परिवारलाई भरणपोषण बापत प्रदेश सरकारले मासिक २१ हजार रुपैयाँ दिने स्थायी व्यवस्था गर्न लागेको बताए। मधेश सरकार मधेश आन्दोलनको भावना अनुरूप अघि बढ्दै आएको उनको दाबी थियो। मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएको समावेशी समानुपातिक व्यवस्था कै उपज रहेको दाबी गरे।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवं मधेशी शहिद प्रतिष्ठानका अध्यक्ष भरत प्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साह, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी , प्रदेश सभा सदस्य मनिष सुमन सहितको वक्ताहरुले आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
Facebook Comment
Comment