झापामा भारतीय हात्तीको आतंक, डरले रातभरि जागै बस्छन् स्थानीय

नेपालभ्युज

झापामा भारतीय हात्तीको आतंक, डरले रातभरि जागै बस्छन् स्थानीय

झापा। बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जंगली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन्। उनीहरू दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन्। तर राति पनि उनीहरू सुत्न पाउँदैनन्। हात्तीको त्रासले रातभर जाग्राम बस्ने गरेका छन्।

भारततर्फबाट आउने हात्तीले बस्तीमा दु:ख दिने गरेको स्थानीय बताउँछन्।

जंगली हात्तीले स्थानीयको घर भत्काउनुका साथै अन्नबाली, करेसाबारीको सागपात, फूलफूललगायत खाइदिँदा उनीहरू हात्तीबाट बाली जोगाउन र आफू बाँच्न सधैँजसो राति जाग्राम बस्न थालेका हुन्। स्थानीय प्रकाश लुइँटेल किनेर घरमा राखेको ३० मन धान हात्तीले नष्ट गरेपछि अब के खाने भन्ने चिन्तामा छन्।

जंगली हात्तीबाट ज्यान जोगाउन कठिन हुँदै गएको स्थानीय माया उप्रेतीले बताए। “सुत्न पाएका छैनौं, बालीको संरक्षण गर्न धौ धौ परेको छ”, उनले रुँदै भने, “बिहान कलेज गएका छोराछोरीलाई हात्तिले बाटौमै मार्छ कि भन्ने पीर छ। कम्तीमा वन र स्थानीय तहले ठाउँठाउँमा गस्ती मात्रै गरेको भए पनि राहत हुने थियो।” गाउँमा हात्ती पसेको थाहा पाएपछि घरघरमा आगो बाल्ने र थाल ठटाउँदै भगवानको नाम जपेर बस्नु बाहेक अर्को विकल्प नभएको उप्रेतीको भनाइ छ।

डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले बुद्धशान्ति, कचनकवल गाउँपालिका, मेचीनगर र विर्तामोड नगरपालिकाका केही क्षेत्रमा जंगली हात्तीले दुःख दिइरहेको बताए। विगतमा समूहमा हिँड्ने हात्ती यसपटक छरिएर हिँडेका कारण जिल्लामा धरै अन्नबालीमा क्षति पुगेको उनको भनाइ छ।

सीमित जनशक्ति र साधनका कारण जीउधनको सुरक्षा गर्न समस्या भइरहेको उनले बताए। साइरन जडान गरिएको एउटा मात्र गाडी भएका कारण समयमै पुग्न भने समस्या भएको मास्केको भनाइ छ। हात्तीलाई गाउँ पस्नबाट रोक्नका लागि केही सामुदायिक वनले वन परिसरमै केरा र बाँसको खेती गरेका थिए। तर हात्तीले हुर्कनै नदिई गुभो नै खाइदिएका कारण सबै सखाप भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved