स्थानीय निर्वाचनबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बस्दै

स्थानीय निर्वाचन र कोरोना नियन्त्रणका बारेमा छलफल गर्न सत्तारूढ पाँच दलका शीर्ष नेताहरू रहेको राजनीतिक समन्वय समितिको बैठक मंगलबार बस्दैछ।

नेपालभ्युज

स्थानीय निर्वाचनबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बस्दै

काठमाडौं। स्थानीय निर्वाचन र कोरोना नियन्त्रणका बारेमा छलफल गर्न सत्तारूढ पाँच दलका शीर्ष नेताहरू रहेको राजनीतिक समन्वय समितिको बैठक मंगलबार बस्दैछ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार भेटवार्ता भएपछि छलफलका लागि आज राजनीतिक समन्वय समितिको बैठक बोलाइएको हो।

बैठक बिहान ९ बजेका लागि तय भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन्। बैठकमा निर्वाचनका साथै कोरोना महामारी नियन्त्रण र पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि छलफल हुने राजनीतिक समन्वय समितिका संयोजक पौडेलले बताए।

समितिमा कांग्रेसबाट पौडेलका साथै कृष्णप्रसाद सिटौला पनि छन्। माओवादीबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ छन्। एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि समितिमा छन्। समितिमा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य छन्।

केही दिनअघि निर्वाचन आयोगले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको थियो। संवैधानिक र कानुनी प्रावधानअनुसार समयमै स्थानीय निर्वाचन हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले पनि निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ।

संविधानमा स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ। विशेष कारण सिर्जना भए स्थानीय जनप्रतिनिधिको कार्यकाल ६ महिना थप गर्न सकिने व्यवस्था छ। सामान्यतया ५ वर्षको कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय निर्वाचन सम्पन्न गरिसक्नुपर्ने छ। पहिलो चरणमा निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल ३ महिनापछि सकिँदै छ। तर, सरकारले अझै चुनावको मिति तय गर्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved