भोजपुर। भोजपुरको दक्षिणी क्षेत्रमा रामप्रसादराई गाउँपालिका ४ दलगाउँमा रहेको धार्मिक तथा पर्यटकीयस्थल चुलाचुली गुफा ओझेलमा परेको छ। यहाँका ढुङगामा रहेका देवीदेवताको आकृतिसँगै ढुङ्गाको बनावट सबैका लागि अनौठो लाग्छ।
डाँडामा रहेको यो स्थानको करिब दुई रोपनी क्षेत्रमा रहेको ढुङ्गा खोलाका बगर झैं कुदिएका छन्। दलगाउँको दिपेनीमा रहेको यो गुफाभित्र महादेवको मूर्ति रहेको स्थानीयवासीको भनाइ छ।
स्थानीयवासी हरिबहादुर राईले भने,‘‘परापूर्व कालदेखि नै यो ठाउँका ढुङगा यस्तै छन्। यो एउटा धार्मिकस्थल हो। यहाँको गुफाभित्र शिवको मूर्ति पनि छ।’’दुर्गम तथा प्रचारप्रसार नभएको कारण यो स्थान ओझेलमा परेको राईको भनाइ छ। ‘‘यस्तो प्रकारका अनौठो धार्मिकस्थल नेपालमा कमै होलान्। हेर्न आउने यहाँको ढुङ्गाको बनावट देखेपछि अचम्ममा परेर हामीलाई सोध्छन्”, राईले भने,‘‘यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विस्तार गर्न सके धेरै पर्यटक भित्र्याउन सकिन्छ।’’
यहाँका ढुङ्गामा मादलसमेत बजाउन सकिने स्थानीयवासी शान्तकुमार राईले बताए। अहिले दैनिक रूपमा दुई समूह मानिस आउने गरेको उनको भनाइ छ। राईले भने,‘‘यो ठाउँ निकै सुन्दर र अनौंठो प्रकारको छ। अहिले आन्तरिक पर्यटक आएर दर्शन गर्ने गरेका छन्। हामी स्थानीयवासीले दैनिक रूपमा पूजाआजा गर्दै आएका छौँ।’’
गाउँपालिकाले यो धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि विस्तृत परियोजना प्रतिवदेन तयार गरेर काम गरिरहेको जनाएको छ। यसलाई गाउँपालिकाको आर्थिक स्रोतको रूपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष विजय राईले बताए।
राईले भने,‘‘यहाँको ढुङ्गाको बनावटले सबैलाई अचम्म पार्छ। अहिले यसको योजनाबद्ध विकासमा गाउँपालिका जुटेको छ।’’ संरक्षण तथा सुरक्षाको लागि सो स्थान रहेको ठाउँमा पर्खाल लगाएर घेराबार गरिरहेको छ। यसलाई थप व्यवस्थित गरेर लैजाने तयारीका साथ काम भइरहेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिए।
उपाध्यक्ष राईले भने,‘‘यस क्षेत्रको निकै ठूलो धार्मिक महत्व छ। यो ठाउँ ओझेलमा थियो तर जनप्रनिधि आएपछि स्थानीयवासीको चाहना अनुसार यो ठाउँको विकासमा जुटेका छौँ।’’
Facebook Comment
Comment