काठमाडौं। ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ। योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।
मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो। तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले १ माघलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो।
यसअघि २०३६ सालदेखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो।
वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो। यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो। आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन्।
Facebook Comment
Comment