काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताएका छन्।
बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरूसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नुपरेको भए पनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने बताए।
नेपाली पुर्खाहरूले लगाएको गहनाहरूको उपयोगिता तथा ऐतिहासिकताको अध्ययन गर्दै सोअनुरूप गहना बनाई विदेशी मुलुकमा पठाउनतर्फ ध्यान दिन उनले व्यवसायीहरूलाई आग्रह गरे। गहना निर्यातले नेपालको अन्तर्राष्ट्रिय महत्व बढ्न सक्ने उनले धारणा राखे।
गृहमन्त्री खाँणले नेपालमै गहना निर्माण गर्नाले रोजगारी बढ्ने बताए। यसका साथै कच्चा सुन किन्दा विदेशी भूमिमा पुगेको पैसा गहना बिक्री गरेसँगै नेपाल फर्किने पनि उनले बताए। उनले भने, “नेपाली कालिगढहरूलाई सिकायो भने नेपालभित्र रोजगारी पनि बढ्यो। नेपाली गहनाले अन्तर्राष्ट्रिय बजार पायो भनेपनि त्यसले मद्दत पुर्याउँछ। विदेशमा गहना निर्यात गर्न सक्यौँ भने विदेशी पैसा नेपालमा फर्केर पनि आउँछ। त्यतापट्टि ध्यान दिनुस्। विधिअनुकूल तपाईहरू बढ्नुस्।”
उनले उद्योगी, व्यवसायीहरूको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालयमातहतका निकायहरूले उद्योगी, व्यवसायीहरूको सुरक्षामा काम गर्ने बताए।
Facebook Comment
Comment