दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि तामाङलाई

नेपालभ्युज

दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि तामाङलाई

तनहुँ। ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि तीर्थराज तामाङले जितेका छन्। ४२ किमी दूरीको म्याराथन दुई घण्टा ५१ मिनेट २५ सेकेन्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबका तामाङले म्याराथनको उपाधि जितेका हुन्।

प्रतियोगितामा देवराज महतारा द्वितीयभ भएका छन्। उनले उक्त दूरी दुई घण्टा ५४ मिनेट २५ सेकेन्डमा पूरा गरे। प्रतियोगितामा सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा पाँच मिनेट ४६ सेकेन्डमा पार गरे। चौथो भएका तेह्रथुमका प्रताप खड्काले उक्त दूरी तीन घन्टा १० मिनेट ४५ सेकेन्डमा पार गरे। खुल्लातर्फको म्याराथनमा ४९ धावकको सहभागिता थियो।
धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिएको थियो ।
खुल्लातर्फ प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार, तृतीय हुनेलाई रु २५ हजार र चौथो हुनेलाई रु १० हजार प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए।

महिलातर्फको चार किमी दौडमा सीता रानाभाट प्रथम, यमुना थापा द्वितीय, सुस्मिता रानाभाट तृतीय र विष्णु परियार चौथो भएका छन्। महिलातर्फ प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु आठ हजार, तृतीय हुनेलाई रु पाँच हजार र चौथो हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिएको छ।
गत वर्ष आयोजित प्रथम ऋषिङ म्याराथनको उपाधि जुम्लाका राजन रोकायाले जित्नुभएको थियो। प्रतियोगितामा डोटीका नवराज साउद द्वितीय, सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय र कालीकोटका देवराज महतारा चौथो भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved