नारायणहिटीमा बतास समूहका संरचना भत्काउन थालियो

नेपालभ्युज

नारायणहिटीमा बतास समूहका संरचना भत्काउन थालियो

काठमाडौं।  नारायणहिटी दरबार सङ्ग्रहालयभित्र बतास समूहले रेष्टुरेन्टका लागि निर्माण गर्न लागेका संरचना भत्काउन सुरु गरिएको छ। यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफ्ना संरचना भत्काउन बतास समूहलाई निर्देशन दिएका थिए।

बतासले आफ्ना संरचना नहटाएर सरकारले आफैं भत्काउने पनि उनले बताएका थिए। शुक्रबारदेखि रेष्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए।

क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाउन थालेपछि चौतर्फी विरोध सुरु भएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि एक छानबिन समिति गठन भएको छ। समितिले आज शुक्रबारदेखि आफ्नो काम सुरु गरेको उक्त समितिका सदस्य तथा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेलले जानकारी दिए।

समितिले ती विवदित संरचना भत्काउनका लागि १२ जना कामदार खटाएको जनाएको छ। समितिले सङ्ग्राहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved