सतर्क व्यवहारले ओमिक्रोनको जोखिम कम गर्नसक्छ : डा.अनुप बाँस्तोला (अन्तर्वार्ता)
हामीले सावधानी अपनाएर सचेत व्यवहार गर्नुपर्छ। हामीसँग अझैपनि डेल्टा भेरियन्ट यथावत् नै छ। यसले पनि संक्रमित बनाइरहेको कुरा बिर्सन हुँदैन, नयाँ आउने बित्तिकै आत्तिने र पुरानोलाई बिर्सिहाल्ने हाम्रो बानी छ, यो राम्रो होइन।
नेपालभ्युज
काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को नयाँ भेरिएन्ट ओमिक्रोनलाई हल्का रूपमा लिन नहुने चेतावनी विश्व स्वास्थ संगठनले बारम्बार दिइरहेको छ। नेपालमा यस भेरिएन्टबाट संक्रमित हुनेको संख्या २७ पुगिसकेको छ। ओमिक्रोनबाट बच्नका लागि कस्ता तयारी गर्नुपर्ला ? यस विषयमा सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलासँग समृद्धा केसीले गरेको कुराकानी :
। ओमिक्रोन भेरियन्ट कतिको संक्रामक र घातक छ ?
कोरोना भाइरसको स्वरुप परिर्वतन हुँदै गएर अहिले ओमिक्रोन भेरियन्ट आइपुगेको छ। नोभेम्बरतिर पहिलोपटक दक्षिण अफ्रिकामा यो भेरिएन्ट देखिएको थियो। यसलाई भाइरसको एउटा प्रजातिको रुपमा लिन सकिन्छ। यसअघि अल्फा, डेल्टा, कल्फा र अहिले ओमिक्रोन देखिएको हो।
यसलाई दोस्रो लहर सिर्जना गर्ने डेल्टाभन्दा पनि संक्रमक मानिएको छ। ओमिक्रोन संक्रमण पुष्टि भएका व्यक्तिमा पर्नसक्ने असरबारे बिस्तृत अध्ययन हुनै बाँकी छ। तर अहिलेसम्म भएका अध्ययनहरु नियाल्दा डेल्टाको दाँजोमा ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको बिरामीको संख्या निकै कम रहेको देखिन्छ। त्यस्तै, गम्भीर बिरामीको संख्या पनि कम नै छ।
यसअघि नै कोरोना संक्रमित भइसकेका व्यक्तिलाई पनि यो भेरिएन्टले संक्रमित बनाउनसक्छ। किनकी, पहिलेको संक्रमणले बनाएको रोगप्रतिरोधात्मक क्षमतालाई ओमिक्रोनले छल्न सक्ने क्षमता राख्छ। अर्को चिन्ताको विषय खोपको प्रभावकारीता पनि हो। डेल्टालगायत अन्य भेरियन्टमा खोपको प्रभावकारीता ६० देखि ९४ प्रतिशतसम्म थियो, ओमिक्रोनमा ती खोपको प्रभावकारीता २० प्रतिशतमात्र रहेको अध्ययनहरुबाट देखिएको छ। त्यसैले पूर्ण खोप लगाएका मानिस पनि जोखिममा छन्।
छिमेकी राष्ट्र भारतमा पनि तिव्रगतिमा फैलिरहेको यस भाइरसबाट नेपालमा २७ जना संक्रमित भएको पुष्टि स्वास्थ तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ। आगामी दिनमा यसको प्रभाव कति फैलनसक्ला ?
पछिल्लो समय भारतमा संक्रमितको संख्या बढिरहेको छ। त्यहाँ गरिएको ‘होल जीन सिक्वेन्सिङ’ हेर्दा ओमिक्रोन डोमिनेट हुँदै गइरहेको अवस्था छ भन्ने देखिन्छ। अर्थात्, संक्रमणदर बढ्नुको कारण यही हो भनेर अनुमान लगाउन सकिन्छ।
भारतमा खोप अभियान तिव्रगतिमा चलिरहदाँ पनि संक्रमितको संख्या यसरी बढ्नु (जुन हामी ब्रेकथु्र इन्फेक्सन) ले ओमिक्रोन निकै संक्रामक रहेको पुष्टि गर्छ। यसरी नै संक्रमण बढिरहे भारतबाट नेपालीहरू फर्किने अवस्था आउँछ। त्यसरी फर्किएर आएकाहरूलाई हामीले व्यवस्थापन र निगरानीमा राख्न सकेनौं (उनीहरु समुदायमा घुलमिल भए) भने संक्रमण फैलनसक्छ।
सबैतिर ओमिक्रोन भेरियन्टका संक्रमितहरु थपिरहेको बेला नेपालमा पनि केही हप्तामै यो बढ्न सक्ने प्रक्षेपण छ। यसबाट बच्न मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, गुम्म कोठामा नबस्ने,भीडभाड नगर्ने गर्नुपर्छ।
पहिलो र दोस्रो लहरमा के–कस्ता कमजोरीहरु रहे भए ? अब सरकारको तयारी कस्तो हुनुपर्छ ?
पहिलो लहरको सुरुवाती दिनमा लकडाउन गरेर हामीले संक्रमणलाई रोकथाम गरेका थियौं। तर, लकडाउन खोल्नेबित्तिकै विभिन्न राष्ट्रबाट फर्किएका विशेषगरी मित्र राष्ट्रबाट फर्किएका नागरिकहरुबाट समुदाय स्तरसम्म संक्रमण फैलियो। संक्रमितहरू गम्भीर अवस्थामा पुगे।
दोस्रो लहरमा हामीले लापरबाही गर्दा डेल्टा भेरिएन्टले निकै ठूलो असर गरेको थियो। यस्तो विगतबाट सिकेको पाठलाई हामीले व्यवहारमा उतार्नुपर्छ। अहिले सरकारले खोप अभियानलाई अगाडि बढाइरहेको छ, यसलाई अझै प्रभावकारी तरिकाले बढाउनुपर्छ।
दोस्रो, हामीले सावधानी अपनाएर सचेत व्यवहार गर्नुपर्छ। हामीसँग अझैपनि डेल्टा भेरियन्ट यथावत् नै छ। यसले पनि संक्रमित बनाइरहेको कुरा बिर्सन हुँदैन, नयाँ आउने बित्तिकै आत्तिने र पुरानोलाई बिर्सिहाल्ने हाम्रो बानी छ, यो राम्रो होइन।
आम नागरिकहरुले अपनाउनुपर्ने स्वास्थ्यका मापदण्डहरुलाई ध्यानमा राख्नुपर्छ। संक्रमण फैलिएका देशबाट स्थल र हवाई मार्ग हुँदै आउने व्यक्तिहरूलाई सरकारले कडा निगरानी गर्नुपर्छ। परीक्षणको दायरा फराकिलो बनाउने र पोजेटिभ आएकाहरूलाई विशेष निगरानीमा राख्ने, उनीहरुको सम्पर्कमा आएकाहरुको पनि खोजी गर्ने गर्नुपर्छ।
हरेक पटक स्वाब परीक्षण गर्दा नयाँ कुनै प्रजाति देखियो कि भनेर पनि परीक्षण गर्न आवश्यक हुन्छ। यसलाई तदारुकताका साथ चुस्तदुरुस्त बनाउनु पर्छ। क्लिनिकल सर्भिलेन्सको आवश्यकता छ, किनकी यसको जोखिम, खोपको प्रभावकारीतालगायत विषयहरू क्लिनिकल सर्भिलेन्सबाटै थाहा हुन्छ।
नेपालमा २७ जनामा ओमिक्रोन संक्रमण देखियो उनीहरुको उमेर समुह कति थियो ? खोप लगाएका थिए वा थिएनन् ? लगाएका थिए भने कस्तो किसिमको लगाए ? यस्ता सर्भिलेन्स डाटा हामीसँग भयो भने केही हप्तामै जनतासामु सार्वजनिक गर्नसक्छौं र असरबारे उनीहरूलाई थाहा दिन सक्छौं। यस्ता डाटा नियालेर रोकथामको रणनीति तय गर्न सकिन्छ।
दोस्रो लहरमा हामीले धेरै पाठ सिकेर स्वास्थ्य संरचनाहरूमा सुधार गरेका छौं।
ओमिक्रोन भेरिएन्टले ल्याउनसक्ने जोखिमलाई थेग्ने क्षमता ती संरचनामा छ भनेर आशा गरौं। तर, भाइरसको प्रभावका विषय अनुसन्धान गर्न भने जरुरी छ।यसबाहेक, कोभिडविरुद्ध फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई यथास्थितीमा राख्नुपर्छ, उहाँहरुलाई आवश्यक तालिम पनि दिनुपर्छ।
आमसर्वसाधारणलाई के आग्रह गर्न चाहनुहुन्छ ?
सबैतिर ओमिक्रोन भेरियन्टका संक्रमितहरु थपिरहेको बेला नेपालमा पनि केही हप्तामै यो बढ्न सक्ने प्रक्षेपण छ। यसबाट बच्नका लागि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, गुम्म कोठामा नबस्ने, सभा–सम्मेलन र भोज–भतेरलगायत भीडभाड नगर्ने गर्नुपर्छ।
सबैले खोप लगाउनुस्। छिमेकी राष्ट्र भारतमा तिव्र गतिमा फैलिरहेको संक्रमणलाई नेपाल आउनबाट रोक्नका लागि तपाई हामी सबै सचेत हुन जरुरी छ।
Facebook Comment
Comment