लिलामीमा भन्दै इन्टरनेटमा राखियो महिलाको तस्वीर

बुल्ली बाइ नामक इन्टरनेट एपमा बिक्रीमा रहेको भन्दै सामाजिक रूपमा सक्रिय मुस्लिम महिलाको तस्वीर राखेर मानसिक तनाव दिने गरेको सार्वजनिक भएको छ।

लिलामीमा भन्दै इन्टरनेटमा राखियो महिलाको तस्वीर
बुल्ली बाइ एपमा राखिएको काश्मिरकी पत्रकार कुर्रतुलऐन रहबरको एक तस्वीर।

नयाँ दिल्ली। सन् २०२२ को पहिलो दिन जाग्नासाथ काश्मिरकी पत्रकार कुर्रतुलऐन रहबर झसंग भइन्। कसैले उनलाई इन्टरनेटमा लिलामीका लागि राखेको थियो।

एउटा एपमा उनको तस्वीर राखेर ‘लिलामीमा’ भन्ने सूचना टाँगिएको थियो। त्यसरी ‘लिलामीमा’ राखिनेमा उनी एक्लै थिइनन्।

त्यो एपम सय भन्दा बढी मुस्लिम महिलाको फोटो समावेश थियो। जसमा चर्चित अभिनेत्री सबाना आजमीदेखि दिल्ली उच्च अदालतका न्यायाधीशकी पत्नी लगायत थुप्रै पत्रकार, अभियन्ता र राजनीतिज्ञलाई पनि ‘बुल्ली बाइ’को रूपमा राखिएको थियो।

कतिसम्म भने बेपत्ता छात्र नजीब अहमदकी ६५ वर्षीया आमा फातिमा नफीज र पाकिस्तानी नोबेल पुरस्कार बिजेता मलाला यूसुफजाइलाई पनि एपका सञ्चालकले छोडेका छैनन्।माइक्रोसफ्टको स्वामित्वमा सफ्टवेयर गिटहबमा अनलाइन एप्लिकेशन निर्माण गरिएको हो।

गत जुलाइमा यसैगरी ‘सुली डिल्स’ भन्दै झण्डै ८० जना मुस्लिम महिलालाई ‘बिक्रिको लागि’ राखिएको थियो। उक्त घटनाको एक वर्ष पनि नबित्दै फेरी ‘बुली बाइ’ भन्दै शुरु भएको छ।

“बुल्ली र सुल्ली शब्द मुस्लिम महिलालाई बोलचालको भाषामा प्रयोग गरिने अपमानजनक शव्द हो। यद्यपी, यसपटक मिलाउनको लागि अंग्रेजीसँगै पञ्जाबी भाषाको प्रयोग गरी ‘बुल्ली बाइ’ बनाइएको छ,” तथ्य जाँच गर्ने वेबसाइट अल्टन्यूजका पत्रकार मोहम्मद जुबैरले भने।

रहबरले गतवर्ष ‘सुल्ली डिल्स’बारे रिपोर्ट तयार पारेकी थिइन्। यसवर्ष एपमा आफ्नै फोटो देख्दा अचम्ममा परेको रहबरले बताइन्।

“मेरो तस्वीर देखेपछि गला अवरुद्ध भयो, पाखुराका रौं ठाडा भए, म शुन्य भएँ”, उनले भनिन्, “त्यो अपमानजनक थियो।”

‘लिलामीमा’ भनेर राखिए पनि वास्तविकतामै बिक्री गरिने भने होइन। तर मुस्लिम महिलाहरूलाई अपमान गर्ने नियत भने हो। मुखर मुस्लिम महिलाहरूलाई अपमान गर्न बनाइएको  रहबरको ठम्याई छ। एपमा आफ्नो फोटो र विवरण देखेर शनिबारदेखि दर्जनौँ मुस्लिम महिलाले सामाजिक सञ्जालमा आफ्नो आक्रोश पोखेका थिए। तिनीहरूमध्ये नयाँ दिल्लीकी एक पत्रकार इस्मत आराले १ जनवरीमा दिल्ली प्रहरीमा उजुरी दर्ता गराइन्।

अज्ञात समूहले मुस्लिम महिलालाई दुर्व्यवहार र अपमान गर्नको लागि सामाजिक सञ्जालको प्रयोग गरी उनीहरूको तस्वीरलाई छेडछाड गरि अश्लिल  सन्दर्भमा राखिएको कारण उनले उजुरी दिएकी हुन्।

उनको उजुरीपछि दिल्ली प्रहरीको साइबर अपराध युनिटले २ जनवरीमा एफआइआर दर्ता गरेको थियो। अज्ञात समूहले धर्मको आधारमा शत्रुता बढाउने, राष्ट्रिय एकतालाई खतरामा पार्ने र महिलालाई यौन उत्पीडनमा पार्ने काम बढाएको कारण इन्डियन पेनल कोडको विभिन्न धारा उद्धृत गर्दै प्रहरीले एफआइआर दर्ता गरेको हो।

एपबाट पीडित सिडरहले पनि प्रहरीकहाँ उजुरी दर्ता गराएकी छन्। उनको फोटो पनि एपमा देखिएको थियो। भारतको राजधानी मुम्बईका विभिन्न ट्वीटर ह्याण्डल र ‘बुल्ली बाइ’ एपका निर्माताविरुद्ध उजुरी दर्ता गराएकी हुन्।

तथापी प्रहरीले छानवीन गरेर न्याय दिनेमा पत्रकार आरा आशावादी छ्रैनिन्। ‘सुल्ली डिल्स’मा भएको अनुसन्धानको ६ महीना बितिसक्दा पनि दोषीलाई कारबाही नगरेकाले उनी निराश भएकी हुन्।

अधिवक्ता जोहरा खानको पनि सुल्ली र बुल्ली बाइ दुवैमा नाम छ। उनले पनि गतवर्ष मुम्बई प्रहरीमा उजुरी दर्ता गरेकी थिइन्।

“मुम्बई प्रहरीले डाटा खुलाउन अनुरोध गर्दा पनि ट्वीटर, गिटहब र गो–ड्याडि(वेभ होस्टिङ कम्पनी) बाट कुनै प्रतिक्रिया पाएनौँ,” उनी भन्छिन्, “अदालतको वारेन्ट पेश नगरेसम्म यि वेबसाइटले सूचना दिन मान्दैनन्।”

नयाँ दिल्ली र मुम्बईका प्रहरी अधिकारीले भने कुनै प्रतिक्रिया दिएनन्।

“बिना कुनै डर मुस्लिम महिलाप्रति घृणा फैलाउन इजाजत दिइएको देख्दा दुःख लाग्छ। महिलाको यस्तो लिलामी भएको पहिलोपटक होइन,” पत्रकार आरा भन्छिन्, “मुस्लिमबारे सोसल मिडियामा आवाज उठाएका महिलाहरूलाई टार्गेट गरिएको देखिन्छ। यी महिलालाई अघि बढ्न नदिने षड्यन्त्र हो। किनकि हामीले हिन्दू दक्षिणपन्थीलाई उनीहरूको घृणित अपराधविरुद्ध चुनौती दिन्छौँ।”

गतवर्षे मुस्लिमहरूको पर्व इद–अल–फितरका बेला पनि युट्युव ‘लिबरल डगी’ ले पाकिस्तानी महिलाको आपत्तीजनक भिडिओ सेअर गर्दै लेखिएको थियो– ‘इद स्पेशल’। आक्रोशपछि उक्त भिडिओ च्यानलबाट हटाइएको थियो। त्यसको एक हप्तापछि ट्वीटरमा सुल्ली डिल्सको नाममा महिलाहरूलाई ‘लिलामी’मा राखिएको थियो।

महाराष्ट्रको पश्चिमी राज्यकी प्रियंका चर्तुवेदी लगायत केही भारतीय संसद्ले यसविषयबारे कुरा उठाएका थिए। सम्प्रदायलक्षित गरी महिलामाथि भएको दुर्व्यवहारबारे ट्वीट गर्दै उनले भारतको आइटी मन्त्रीलाई ‘कडा कारबाही’ गर्न माग गरेकी थिइन्।

“सुल्ली डिल्सको बेलामा प्रहरीमा उजुरी दर्ता भएको थियो, तर कुनै कारबाही भएन,” चतुर्वेदीले भनिन्, “यहीकारण यी मानिसलाई हौसला मिलिरहेको छ।”

काश्मिरकी पत्रकार कुर्रतुलऐन रहबरका अनुसार  पितृसत्ता र प्रतिबन्धहरूसँग लडिरहेका एवं उत्पीडनको सामना गरिरहेका मुस्लिम महिलालाई यस्तो हर्कत विशेष चिन्ताजनक छ। उनी भन्छिन्, “अक्सर महिलालाई सोसल मिडियाबाट फोटो हटाउन वा लुकाउन भनिन्छ। यस्ता दुर्व्यवहारका प्रयास पछि मुस्लिम महिलाहरूलाई अडान लिन गाह्रो हुनेछ।”

वासिङ्गटन पोस्टका लागि मुम्बईका एक स्तम्भकार राना अय्युबका अनुसार बुल्ली बाइले भारतमा (हेट क्राइम्स) घृणा अपराधलाई खतराको तहमा पुर्‍याइदिएको छ। मुस्लिम महिलाहरूमाथि डिजिटल माध्यमबाट अत्याचार भइरहेको छ र एक कट्टर समूहको लागि निःशुल्क उपलब्ध गराइदिएको छ। उनले भनिन्, “अल्पसंख्यक समुदायका महिलाहरूको यो लिलामीले भारतको नैतिक पतन र यसको संवैधानिक मूल्यहरू प्रदर्शन गर्छ।”

अलजजिरामा प्रकाशित समाचारको अनुवाद सुनिता साखकर्मीले गरेकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved