माओवादीको केन्द्रीय समिति बैठक स्थगित

माओवादीको केन्द्रीय समिति बैठक स्थगित
फाइल तस्वीर

काठमाडौं। पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आगामी ८ माघसम्मका लागि स्थगित भएको छ।

गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही २५ पुसमा केन्द्रीय समिति बैठक राखेको थियो। केही नेता बिरामी परेको तथा पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

उनका अनुसार पार्टी केन्द्रीय कार्यालयका पाँच कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ। पार्टीका केही नेता तथा कार्यालयका कर्मचारीमा समेत सङ्क्रमण देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट बन्द गरेका छन्।

यही १८ पुसमा सम्पन्न माओवादीको महाधिवेशनले २३७ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। केन्द्रीय समिति बैठकबाट माओवादीले पदाधिकारी चयन गर्ने तयारी गरेको थियो।

यसअघि यही १९ पुसमा बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा दाहाललाई निर्विरोध निर्वाचित गरेको थियो। माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved