काठमाडौं। ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीबार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो।
ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले तीन सय जनाभन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ।
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताए। उनले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया बढाउने बताए।
उनले भने, “भर्खरै यहाँ मिसिल प्रहरीले बुझाउँदै छ। दर्ता गरेर अध्ययनका लागि हामीले मान्छेहरू डिर्पोट गर्छौं। सरकारी वकिल तोक्छौँ। त्यसपछि सरकारी वकिलहरूले अध्ययन गर्नुहुन्छ। अध्ययन गरेपछि अनुसन्धान पूरा भएको अवस्था भयो भनेचाहिँ मुद्दा चल्ने, नचल्ने निर्णय हुन्छ। चल्ने निर्णय भयो भने अभियोगपत्र तयार भएर अदालत जान्छ।”
प्रहरीले जति जनालाई प्रतिवादी बनाएको भए पनि सरकारी वकील कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ हुनसक्ने उनले बताए।
Facebook Comment
Comment