सर्लाहीमा भएको प्रहरी ज्यादती जंगलराजको पराकाष्ठा : प्रभु साह

नेपालभ्युज

सर्लाहीमा भएको प्रहरी ज्यादती जंगलराजको पराकाष्ठा : प्रभु साह
फाइल तस्वीर

काठमाडौ। नेकपा एमालेका स्थायी कमिटी सदस्य एव पूर्वमन्त्री प्रभु साहले सर्लाहीको ईश्वरपुरमा भएको घटनामा प्रहरीको ज्यादती जंगलराजको पराकाष्ठा भएको बताएका छन्।

आइतबार प्रहरीको भ्यानको ठक्करबाट बयलबासका युवा व्यवसायी रामकुमार महतोको मृत्यु भएपछि स्थानीय आन्दोलित छन्। आफ्नो गल्ती स्वीकारेर छलफलमार्फत समाधान गर्नुको सट्टा प्रहरीले शान्तिपूर्ण प्रदर्शन गरिरहेका स्थानीयमाथि थप दमन गरेकोप्रति नेता साहले आपत्ति जनाएका हुन्।

रहस्यमय ढंगले मृत्यु हुनु र सर्लाही प्रहरीले उल्टै अनुचित रूपमा बल प्रयोग गरी पीडित पक्षलाई थप उतेजित एवं मर्माहत बनाउने कार्य गरी जंगलराज देखाएको भन्दै नेता साहले सर्लाहीको एसपी र सम्बन्धित इलाकाका इन्चार्जलाई तत्काल निलम्बन गर्न माग गरेका छन्।

‘घटनाप्रति पीडित पक्षले निष्पक्ष छानबिनसहित न्यायका लागि शान्तिपूर्ण सडक संघर्ष गरिरहेको सन्दर्भमा पीडित पक्षसँग वार्ता छलफलको माध्यमले समस्याको हल खोज्नुको सट्टा प्रहरी प्रशासनले उल्टै अनुचित रूपमा ‍बल प्रयोग गरी पीडित पक्षलाई थप उतेजित एवं मर्माहत बनाउने तथा कर्फ्यू जारी गरेर अनावश्यक त्रासको अवस्था सिर्जना गर्न निर्दोष एवं लाचार स्थानीयवासीहरूको जीउधनमाथि धब्बा बोली स्थानीय प्रहरी प्रशासनले गरिरहेको जंगलराजको हर्कतप्रति घोर निन्दा व्यक्त गर्दछु,’ नेता साहले भने।

सर्लाही प्रहरीद्वारा भइरहेको यस हर्कतले सिंगो प्रहरी संगठनलाई नै बदनाम गराउने तथा प्रहरी प्रशासनप्रति आमजनताको विश्वास गुम्ने भएकोले जिल्ला प्रहरी प्रमुख र सम्बन्धित इप्रकाका इन्चार्जलाई तत्काल निलम्बन गर्न र घटनाको निष्पक्ष रुपमा छानबिन गरी तत्काल पीडित पक्षलाई राहत एवं दोषीलाई कार्यबाही गर्न गृह मन्त्रालयसहित नेपाल सरकारसँग जोडदार माग गर्दछु।” नेता साहले थपेका छन्।

गस्तीमा रहेको प्रहरीको भ्यानले किचेर स्थानीय व्यापारीको मृत्यु भएपछि निष्पक्ष छानबिनको माग राखेर स्थानीयले प्रदर्शन जारी राख्दा सर्लाहीको ईश्वर नगरपालिका बजार क्षेत्र तनावग्रस्त बन्दै गएको छ।

गएको आइतबार ९ बजेतिर इलाका प्रहरी कार्यालयको गस्तीमा रहेको भ्यानले ठक्कर दिँदा स्थानीय फेन्सी पसल चलाउँदै आएका व्यापारी ईश्वरपुर नगरपालिका-५ का रामकुमार महतोको मृत्यु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved