काठमाडौं। जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा एक महिनासम्म इमर्जेन्सी र ओपीडी दर्ता शुल्क नलाग्ने भएको छ।
इमर्जेन्सी र ओपीडी सेवामा सम्पूर्ण बिरामीको दर्ता (नयाँ र पुरानो) पुस १५ देखि माघ १५ सम्म निशुल्क गर्ने लागिएको कलेजका प्रबन्ध निर्देशक बसुरुद्दीन अन्सारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
प्रबन्ध निर्देशक अन्सारीले कमजोर आर्थिक अवस्था भएका विरामीलाई लक्षित गर्दै ओपीडी र जनरल वेडहरुमा भर्ना शुल्क शतप्रतिशत छुट गर्न लागेको जानकारी दिए।
‘‘कलेजमा अब कुनैपनि उपचारका लागि आउने बिरामीले एक महिनासम्म ओपीडीको टिकटमा पैसा तिर्नु पर्दैन। जनरल वेडहरुमा बस्दा ५० प्रतिशत मात्र खर्च तिरे पुग्छ,” उनले भने।
६ महिनाअघिमात्रै अन्सारी नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशक बनेका हुन्। अन्सारीले गरिब, असहाय, निमुखा, टुहुरा, विपन्न वर्ग, एकल महिला, जेष्ठ नागरिकहरुले आर्थिक अभावकै कारण उपचार गर्नबाट बन्चित हुन नपरोस् भनेरै निशुल्क सेवा प्रदान गर्न लागिएको बताए।
‘‘हामीसँग तल्लो, मध्यम तथा उच्च वर्गहरु उपचारका लागि आउने गरेका छन्। आथिक रुपमा बलियो भएकाहरुले पैसा तिरेर उपचार गराउँदा कमजोर भएकाहरुलाई निःशुल्क सेवा दिने अभियान चालेका हौं,” अन्सारीले भने ।
अस्पतालमा सेवा बिस्तार गरिँदै
हाल अस्पतालमा ७७ बेड आईसीयु सञ्चालनमा छ। अबको केही महिनामै अस्पतालले थप २३ वेड आईसीयु थप्ने अन्सारीले बताए। मिर्गाैला, क्यान्सर रोग लागेका बिरामीको उपचार समेत प्रभावकारी बनाउँदै लैजाने योजना रहेको उनले बताए।
एमर्जेन्सी सेवालाई थप व्यवस्थित गर्दै २४ सै घण्टा विशेषज्ञसहितको चिकित्सक सेवा दिइने उनले बताए। इमर्जेन्सीमा आउने कुनैपनि बिरामीको उपचारमा ढिलासुस्ती हुन नदिन विशेषज्ञ चिकित्सकहरुको व्यवस्थापन गरिएको समेत उनले जानकारी दिए।
यसैगरी कलेजले ल्याबतर्फको सेवालाई पनि थप गर्ने भएको छ। निकट भविष्यमै अस्पतालको ल्याबतर्फ थप सिटी स्क्यान, थ्री टेस्लाको एमआरआई जडान गर्ने भनिएको छ। “अहिले हामीसँग एउटा सिटी र एमआरआई रहेकोमा अबको केही समयमै थप एउटा सिटी र एमआरआई जडान गर्नेछौं”, प्रबन्ध निर्देशक अन्सारीले भने।
कलेजले अस्पताल सेवातर्फ सञ्चारकर्मीहरुलाई पनि छुट दिने भएको छ। सूचना विभाग तथा सञ्चार प्रेस रजिष्ट्रार कार्यालयको परिचयपत्रवाहक सञ्चारकर्मीहरुलाई ल्याब, बेड चार्ज तथा विभिन्न उपचार सेवाहरुमा छुट गरिने उनले बताए।
Facebook Comment
Comment