काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले संघीयताका सवालमा प्रचण्डले अडान लिन नसक्दा मधेस विद्रोह निम्तिएको बताएका छन्। पार्टीको आठौं महाधिवेशनमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
‘‘उपप्रधानमन्त्री उपेन्द्र यादवलगायत यहाँ उपस्थित नेताहरुले मधेस आन्दोलनको कुरा गर्नुभयो। मलाई लाग्छ, कमरेड प्रचण्ड थोरै उदार नभएको भए। गिरिजाबाबु र माधवजीको कुरामा कस्सिएर अडान लिएको भए। संघीयता बिनाको अन्तरिम संविधान मान्दैंनौ भनेको भए मधेस आन्दोलन हुँदैन थियो,’’ उनले भने,‘‘मधेस आन्दोलन भयो र हामी सबैले स्विकार्यौ।’’
प्रचण्डले पार्र्टीलाई अलपत्र छाडेर हिंड्न नमिल्ने उनले बताए। ‘‘पत्रकारहरूले प्रचण्डलाई भावी नेतृत्वबारे सोध्छन्। उनले पनि संस्मरण लेख्ने मन छ भन्नुहुन्छ । तर, धर पाइन्छ ? क्रान्तिलाई बीच बाटोमा छाडेर कोही क्रान्तिकारी नेता गएको छ ? अवसरवादीहरुमात्रै जान्छन्,’’ यादवले भने,‘‘उहाँका कुरा सुन्दा त कहिलेकाँही मलाई पनि पार्टी छाडौं छाडौं लाग्छ। त्यसैले अब संस्मरण लेख्न मन छ नभन्नुहोला।’’
केपी ओली सर्वेसर्वा बन्न खोजेकाले एमाले र माओवादीको एकता टुटेको दाबी उनले गरें।
Facebook Comment
Comment