विकास खर्च गति निकै सुस्त, छैटौं महिना चल्दा जम्मा सात प्रतिशत

नेपालभ्युज

विकास खर्च गति निकै सुस्त, छैटौं महिना चल्दा जम्मा सात प्रतिशत

काठमाडौं। चालू आर्थिक वर्षको विकास खर्चको गति पनि निकै सुस्त देखिएको छ। सरकारले समयमा बजेट खर्च गर्न नसक्दा तरलतामा झनै चाप परेको छ।

आर्थिक वर्षको छैटौं महिना चलिरहँदा विकास खर्चको साढे ७ प्रतिशत मात्रै खर्च हुन सकेको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा विकासका लागि विनियोजित ४ खर्ब ३९ अर्ब ६५ करोड रकममध्ये १० मंसीरसम्म ३३ अर्ब १३ करोड मात्रै खर्च भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ११ दशमलव १२ प्रतिशत विकास खर्च भएको थियो।

तथ्यांकअनुसार चालू खर्च भने गत आर्थिक वर्षको सोही अवधिमा भएको खर्चभन्दा बढेको देखिन्छ। तथ्यांकअनुसार चालू आर्थिक वर्षको अहिलेसम्मको अवधिमा कूल विनियोजित चालू खर्चको ३३ दशमलव ८८ प्रतिशत बजेट खर्च भएको छ भने गत आर्थिक वर्षको समीक्षा अवधिमा ३१ दशमलव ०९ प्रतिशत मात्रै खर्च भएको थियो।

विकास खर्च बढाउन अर्थमनत्री जनार्दन शर्माले खास पहल नै नगरेका अर्थका अधिकारीहरू बताउँछन्। मन्त्रालयका एक अधिकारी भन्छन्,  “मन्त्रीज्यू पार्टीको एजेण्डाहरूमा बढी फोकस हुनुभएको छ। बजेट खर्च बढाउन उहाँले खासै छलफल नै गर्नुभएको छैन।”

तर, अर्थमन्त्री शर्मा भने बजेट खर्च गर्ने प्रणाली नै प्रभावकारी नभएकाले समस्या भइरहेको बताइरहनछन्। विभिन्न सार्वजनिक कार्यक्रमहरूमा बोल्दै अर्थमन्त्री शर्मा बजेट खर्च गर्ने प्रणालीको विकास नै हुन नसकेको र सबैभन्दा पहिला प्रणालीको विकास गर्नुपर्ने बताउँछन्।

अर्थविद् दीपेन्द्रबहादुर क्षत्री भने सरकारसँग विकासको आकांक्षा नै नभएको बताउँछन्। भन्छन्, “सरकारसँग विकास र समृद्धिको इच्छा हुन्थ्यो भने अहिलेसम्म चालू आर्थिक वर्षको बजेटका लागि योजना नै नबनेको मैले थाहा पाएको छु। यस्तो सरकारलाई के भन्ने ?”

सरकारी खातामा खर्बौं थन्किँदा बैंकिङ प्रणालीमा थप चाप परेको उनले बताए। भने, “अहिले बैंकमा रकम छैन भन्नुमा एक प्रमुख कारण यो पनि हो। सरकारी खतामा रकम थन्किएको छ, बैंकसँग चलाउन पैसा छैन। सरकार गम्भीर हुन जरुरी छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved