काठमाडौं। एशियन सिनियर सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टिमले विजयी शुरुआत गरेको छ। आजदेखि बंगलादेशमा शुरु प्रतियोगिताको पहिलो खेलमा उत्कृष्ट पुनरागन गर्दै नेपालले श्रीलंकालाई ३-२ सेटमा पराजित गर्यो।
ढाकास्थित मिरपुर इन्डोर स्टेडियममा भएको खेलमा नेपालले शुरुआती दुई सेट गुमाए पनि त्यसपछिका लगातार तीन सेट जित्दै समूह चरणमा विजयी शुरुआत गरेको हो।
नेपालले पहिलो सेट १९-२५ र दोस्रो सेट २१-२५ ले गुमाएको थियो। यसपछि तेस्रो र चौथो सेट लगातार २५-१५ र २५-१९ ले आफ्नो पक्षमा पार्दै नेपालले खेललाई निर्णायक पाँचौं सेटसम्म पुर्याएको थियो।
अन्तिम सेट १५-१३ ले जित्दै नेपालले खेल आफ्नो पक्षमा पार्यो।
अब समूहको दोस्रो खेलमा भोलि (शुक्रबार) नेपाल मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपाल यो प्रतियोगिताको महिलातर्फ डिफेन्डिङ च्याम्पियन हो।
Facebook Comment
Comment