काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चर्का नाराबाजीबीच प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा २ वटा अध्यादेश स्विकृत गरिएको छ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुद्वारा प्रस्तुत यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्विकृत गरिएको हो।
बैठकमा दुवै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए। तर सो प्रस्ताव बहुमत अस्वीकार भएको थियो।
सुवालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेका बेला संसद सुचारु गराएको भन्दै आपत्ति जनाएका थिए।
एमालेका अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसूची अघि बढाएपछि सांसद सुवालले त्यसो गर्नु संसदीय परम्पराविरुद्ध हुने भन्दै आपत्ति जनाउएका हुन्। त्यस अवसरमा उनले संसद अवरोधकै बेला एमसीसीजस्तो देशघाती सम्झौता पारित गर्ने काम गर्न नहुनेतर्फ पनि सभामुख सापकोटाको गम्भीर ध्यानाकर्षण गराए।
उनले सो सम्झौता देशघाती भएको भन्दै खारेज गर्न पनि माग गरे। सुवालले भने, “प्रमुख प्रतिपक्षले संसद अवरोध गरेका बेला कार्यसूची अगाडि बढाउनु संसदीय परम्परा होइन। कार्यसूची अगाडि बढाउनु हुँँदैन। संसद स्थगित गरेर प्रमुख प्रतिपक्ष दलसँग वार्ता गर्नु उपयुक्त हुुन्छ। संसद अवरोधकै बेला अध्यादेश र विधेयकहरु पेश हुनु र देशघाती एमसीसी सम्झौता पनि यसरी नै पेश गरेर पास गर्ने तयारी हुनेछ। त्यसको हामी विरोध गर्छौं।”
अध्यादेश स्विकृत भएपछि प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

Facebook Comment
Comment