२० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाबाट उत्पादन शुरु

२० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाबाट उत्पादन शुरु

पर्वत। मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन शुरु भएको छ। निर्माण शुरु भएको नौ वर्षमा आयोजनाले उत्पादन शुरु गरेको हो।

कुश्मा नगरपालिका-८ मा पावर हाउस र मोदी गाउँपालिका-५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत सातादेखि नियमित उत्पादन शुरु गरेको जनाएको छ। तीन अर्ब ६० करोड लागत अनुमान गरी २०६९ साउनमा शुरु भएको आयोजनाले ६० महिना अर्थात् २०७४ असारभित्रै उत्पादन दिने दाबी गरेको थियो।

भूकम्प, नाकाबन्दी, कामदारको आन्दोलन, उपकरणमा क्षति, मुआब्जा विवादलगायतका झन्झटले निर्धारित समयभन्दा करिब चार वर्ष पाँच महीना ढिला उत्पादन थालिएको हो।

आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पनि जोडिएको छ। करिब ५०० मिटर टाढा रहेको मोदीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएको हो। समय लम्बिएसँगै विद्युत् उत्पादन लागत बढेको भए पनि खर्चबारे आयोजना पक्षले जानकारी सार्वजनिक गरेको छैन।

आयोजनाको सम्पूर्ण खर्चको विवरण सार्वजनिक भइनसकेको आयोजनाका प्रमुख पवनकुमार यादवले जानकारी दिए। भदौ २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग खरीद सम्झौता भएको आयोजनाले वार्षिक ११ करोड ७० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य थियो। समयमै आयोजना नसकिँदा सम्झौता के हुने भन्ने निश्चित नभएको आयोजना पक्षले बताएको छ।

टनेल र पावर हाउसलगायतका संरचना निर्माणकै क्रममा मानवीय तथा प्राकृतिक प्रतिकूलताका कारण उत्पादन मिति दुई वर्षपछि सरेको थियो। २०७२ सालको भूकम्प, स्थानीयवासीको अवरोधलगायत कारणले क्षति बेहोरेको आयोजनाले परीक्षणका क्रममा टनेलमा पानी चुहिएपछि उत्पादन मिति थप दुई वर्षपछि धकेलिएको हो।

आयोजनाबाट उत्पादित बिजुली पातीचौरस्थित १३२ केभीए प्रसारण लाइनको सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा पठाइएको आयोजनाका सूचना अधिकारी सुरेन्द्र बेल्बासेले बताए। योसँगै मोदीखोलामा तीन जलविद्युत् आयोजना सञ्चालमा आएका छन् भने थप तीन चार आयोजना निर्माणाधीन अवस्थामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved