तारानाथ आचार्य\बलेवा : आज २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस। वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँ र सामाजिक, सांस्कृतिक र पारिवारिक विचलनले गाउँमा सन्नाटा छ।
आप्रवासनकै कारण दक्ष उत्पादनशील जनशक्ति विदेश पालयन भएर भित्रिएको विप्रेषणले हाम्रो चुलो बलेको छ। यसको एउटा उदाहरणका रुपमा यहाँको एउटा कार्यक्रमलाई लिन सकिन्छ।
एक साताअघि बागलुङ नगरपालिकाले खहरे आधारभूत स्वास्थ्य सेवा केन्द्रको भव्य उद्घाटन गर्यो।
गलुङ नगरपालिका–३ र छिमेकी गाउँपालिका काठेखोलाको वडा नं १ का अधिकांश सर्वसाधारणलाई कार्यक्रममा खबर थियो। स्थानीय सरकार गठनपछि घर छेउमा बनेको स्वास्थ्य संस्थाको भवन उद्घाटन समारोह।
आफैं जिताएका नगरप्रमुख र वडाध्यक्ष। स्थानीय सरकारका कार्यकारी पदमा रहेका सबै त्यहाँ पुग्दा गाउँमा बस्ने जोकोहीको इच्छा थियो ‘कार्यक्रममा पुगौँ।’
भयो पनि त्यस्तै। भवन बन्नुअघि विद्यालय र खेल मैदानको जग्गा भनेर विवादित भएको ठाउँमा गाउँका अधिकांश सर्वसाधारण पुगे तर त्यहाँ युवा देखिएनन्। खेल मैदान चाहिन्छ भनेर आवाज उठाउने युवा पनि विदेश पलायन भइसकेका छन् भने केही युवा शहर पसेका छन्।
विद्यालय र खेल मैदानको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुखले युवालाई त सम्झे तर उनका कुरा सुन्ने वृद्ध, वयस्क र बालबालिका मात्रै थिए। कि त ४० वर्ष उमेर कटेका थिए भने कि वृद्ध र कि त सानो कक्षामा पढ्ने बालबालिका। सरकारी जागिरेबाहेक युवा कार्यक्रममा देखिएनन्।
देशमा रोजगारीका अवसर कम छन्। स्वरोजगारमूलक व्यवसायमा समेत युवापुस्ता सन्तुष्ट छैनन्। वैदेशिक रोजगारीमा नपुगेसम्म बिहान बेलुकाको छाक टर्दैन। विदेशिएको एक जवान उमेर नघर्केसम्म घर फर्किंदैन।
त्यसैले गाउँ रित्तिएका छन्। वृद्ध र बालबालिकाले मात्रै गाउँ धानेका छन्। गाउँघरमा हुने सभा, सम्मेलन हुन वा कृषि कर्म। भेला, बैठक हुन वा विकासे काम, आजभोलि युवाको सहभागिता निकै कम छ। बिदेसिने प्रचलन निकै बढेकाले गाउँमा युवा देख्न कठिन हुन थालेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मी बताए।
“गाउँ युवाविहिन भएका छन्”, रेग्मीले भने, “उत्पादनशील जनशक्तिको अभाव हुन थालेको छ, विदेशमा सस्तो मूल्यमा हाम्रो परिश्रम विकिरहेको छ।”
आप्रवासनले विप्रेषण भित्र्याएको भए पनि नेपाली समाजमा गहिरो गरी सामाजिक पुँजीको नास भइरहेको वैदेशिक रोजगार बोर्डको ठम्याइ छ। अर्कोतर्फ असुरक्षित आप्रवासनका कारण हाम्रा युवाले अनाहकमा ज्यान गुमाइरहेका छन्। “तथ्यांक हेर्दा कहालीलाग्दो छ, पछिल्लो चार महिना राहदानी बनाउने युवाको सङ्ख्या हेर्दा उदेकलाग्दो छ”, रेग्मीले भने, “स्वरोजगारीलाई जोड दिनु आवश्यक छ।”
बोर्डको तथ्याङ्कलाई हेर्ने हो भने गत आर्थिक वर्षमा मात्रै बागलुङबाट वैदेशिक रोजगारीमा गएका १७ जना युवाले उतै ज्यान गुमाए। कोभिड–१९ महामारीको चपेटामा परेर ज्यान गुमाएकाको त अझै तथ्याङ्क छैन। पाँच जना युवा अङ्गभङ्ग भएर फर्किएका छन्।
उनीहरूको काम गरेर खानसक्ने अवस्था छैन। “आज विदेशमा भएका बाबुआमासँग बच्चाले चकलेट र ट्याबको आशा राखेको छ, माया ममता त एकादेशको कथा हुने भो”, सामाजिक संस्था बीवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले भने, “एकाध महिना घरमा आएको बाबुआमालाई बच्चाले भन्छ, हजुर फेरि जानु मलाई त्यही चकलेट, ट्याब, नाना र सामान ल्याइदिनु।”
आप्रवासनका कारण नेपालमा सामाजिक र मानसिक समस्या बढ्दो रहेको सरोकारवालाको भनाइ छ। वैदेशिक रोजगारीलाई कम गर्दै स्वरोजगारमूलक व्यवसायमा लाग्न धेरै सरकारी तथा गैरसरकारी संस्थाले कार्यक्रम त ल्याएका छन् तर आप्रवासनका कारण भइरहेको आर्थिक, सामाजिक, मानसिक र मानवीय क्षति न्यूनीकरण आवश्यक छ।
Facebook Comment
Comment