काठमाडौं। सरकारले २९ जना द्वन्द्वपीडितलाई २३ लाख क्षतिपूर्ति दिने सरकारको निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिसमा पूर्णप्रसाद पौडेललगायत २९ जनाला २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिए।
यी हुन् मन्त्रिपरिषद्का थप निर्णय
कोभिड- १९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १४ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न टोली गठन गर्ने।
शिक्षक सेवा आयोग (एघारौँ संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने।
सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई भारतीय सशस्त्र बलको ५८औँ स्थापना दिवस कार्यक्रममा भाग लिनका लागि स्वीकृति।
‘दि एलाइन्स फ्रान्सकासिस काठमाडौँ’ (एएफके)सँग भएको सम्झौता परिमार्जन गरी संशोधित सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत गरिबी निवारण कोष अभिलेख व्यवस्थापन कार्यक्रम कार्यान्वयनका लागि पाँच अधिकृतको अस्थायी दरबन्दी स्वीकृत।
सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (पहिलो संशोधन) गठन आदेश, २०७८ स्वीकृत।
विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा, कानून समूहको राजपत्राङ्कित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा, न्याय समूहको राजपत्राङ्कित प्रथम श्रेणी पदमा नियुक्ति गर्ने।
धादिङको बनीघाट रोराङ गाउँपालिकालाई प्रशासकीय भवन निर्माणका लागि १० रोपनी जग्गा प्रयोग गर्न तथा भोटेओडार आँखा उपचार केन्द्र सुन्दर बजार, लमजुङलाई भवन निर्माण गर्न एक रोपनी जग्गा भाडामा उपलब्ध गराउने।
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि डा. दामोदर रेग्मीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन।
नेपाली सेनाका सहायकरथी डा. अरुणकुमार न्यौपानेलाई उपरथीमा बढुवा,सहायकरथी सागरबहादुर केसीलाई अवकाश पूर्वउपरथीमा मानार्थ बढुवाकासाथै अन्य चार सैनिक अधिकृतको बढुवा, महासेनानी खगेश्वर अर्यालको अवकाशपूर्व विशेष बढुवा, सेनाका प्राविधिक सेवाका सहायकरथी हेगेन्द्रलाल महर्जन र महासेनानी खुमबहादुर कुँवर क्षेत्रीको पदावधि थप, सेनाका विभिन्न सेवा समूहका उपरथी, सहायकरथी र महासेनानीको सरुवा।
नेपाल विद्युत् प्राधिकरणलाई सुर्खेत-बिजौरा ३३ केभी प्रसारण लाइन आयोजनाको पोल तथा राइट अफ वे संरचना निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका र बाराहताल एवं पञ्चपुरी गाँउपालिकास्थित चेतना सामुदायिक वनलगायतको १०.५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत प्रदान।
जिल्लासभा कालीकोटका नाममा रहेका दुई हजार २९० वर्गमिटर जग्गा खाँडाचक्र नगरपालिका कालिकोटका नाममा हक हस्तान्तरण तथा विभिन्न १३ स्थानीय तहलाई विभिन्न परियोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति।
लोकसेवा आयोगबाट सिफारिस भई आएका डा. प्रज्वल श्रेष्ठसहित १० जनालाई नेपाल स्वास्थ्य सेवाको ११औँ तहमा नियुक्त गर्ने निर्णय।
नेपाल राजस्व परामर्श विकास समितिका सदस्य निर्मलहरि अधिकारीको राजीनामा स्वीकृत।
Facebook Comment
Comment