काठमाडौं। नेपाली कांग्रेसले आउँदो २८ गते केन्द्रीय समिति बैठक बोलाएको छ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति निकालेर २८ गते १ बजे पार्टी कार्यलयमा बैठक बस्ने जनाएको छ। मंसीरमा १४ औं महाधिवेशन गर्न लागेको कांग्रेसले बाँकी रहेको अधिवेशन आउँदो २७ गतेदेखि शुरु गर्दै छ।
१३ जिल्लाको वडा अधिवेशन, ६५ जिल्लाको जिल्ला र क्षेत्रीय अधिवेशन तथा प्रदेश अधिवेशनको कार्यतालिका शुरु हुने हुनै लाग्दा कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।
यद्यपि आइतबार बोलाइएको केन्द्रीय समिति बैठकको एजेन्डाहरू खुलाइएको छैन। बैठकमा समसमायकि राजनीतिका साथै केन्द्रीय महाधिवेशन तयारीबारे छलफल हुने कांग्रेसले जनाएको छ। कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर २४ गतेदेखि २६ गतेसम्म तय गरिएको छ।
रौतहट र रसुवाको क्रियाशील सदस्यता विवाद कायमै देखिएको बेला बाँकी अन्य जिल्लामा कांग्रेसले अधिवेशनहरू सम्पन्न गर्न लागेको हो। २७ मंसीरदेखि हुने अधिवेशनहरूका लागि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मतदान अधिकृतसमेत परिचालन गरिसकेको छ।
निर्वाचन समितिका अनुसार क्रियाशील सदस्यताको टुंगो लागेपछि रौतहट र रसुवाको अधिवेशन गरिने छ।
१४ औं महाधिवेशनअन्तर्गत वडाअधिवेशन भइसकेका हिमाली जिल्लाहरू सोलुखुम्बु, दार्चुला र म्याग्दीमा भने २७ कात्तिकमा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ। यी तीन जिल्लासहित जुम्लामा १ मंसीरमा जिल्ला अधिवेशन हुनेछ। जुम्लामा वडा र स्थानीय तहको अधिवेशन भइसकेको छ।
निर्वाचन समितिका अनुसार वडा र स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेका अन्य ४६ जिल्लामा २ मंसिरमा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ। अधिवेशन हुन बाँकी सबै जिल्लामा ६ मंसीरमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ भने १० मंसिरमा जिल्ला अधिवेशन हुनेछ।
महाधिवेशनको कार्यतालिकाअनुसार १६ र १७ मंसीरमा प्रदेश अधिवेशन हुनेछ।
Facebook Comment
Comment