गुल्मी। गुल्मीको कालीगण्डकी नदीमा मलामी गएका एक किशोर नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा गुल्मीको चन्द्रकोट गाउँपालिका ८ वर्ष १९ का शंकर पौडेल रहेका छन्।
ती किशोर चन्द्रकोट गाउँपालिका ७ का थानेश्वर न्यौपानेको मलामी गएको अवस्थामा आइतबार दिउँसो सत्यवती गाउँपालिका १ अन्तर्गत रुद्रवेणी कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जोहाङ्बाट प्रहरी सहायक निरीक्षक लक्ष्मण विकको नेतृत्वमा चार जना र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक सुबराज बमको नेतृत्वमा सात जना गरी ११ जनाको प्रहरी टोली घटनास्थलमा पुगी पौडेलको खोजी कार्य गरिरहेको छ। खोला केही धमिलो र गहिरो भएका कारण खोजी कार्यमा पनि समस्या परेको बताइएको छ।
Facebook Comment
Comment