असंग्लन राष्ट्रको सम्मेलन महत्वपूर्णः मन्त्री खड्का

बैठककै क्रममा महत्वपूर्ण द्वीपक्षीय भेटघाट भएको र भेटघाट नेपालको हितमा रहेको मन्त्री खड्काको दाबी छ।

असंग्लन राष्ट्रको सम्मेलन महत्वपूर्णः मन्त्री खड्का
फाइल तस्वीर।

काठमाडौं। असंलग्न राष्ट्रहरुको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किएका छन्। बैठक नेपालका निम्ति फलदायी रहेको मन्त्री खड्काको भनाइ छ।

विश्वमा बढ्दो जातीय तथा अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतंकवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तिय जोखिम, भूराजनीतिक जटिलता र हातहतियारको होडबाजी लगायतका विषयमा आफूले आवाज उठाएको उनले बताए। बैठक पश्चात बुधबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले यस्तो बताएका हुन्।

सर्बियाको बेलग्रेडमा असोज २५ र २६ गते असंलग्न राष्ट्रहरुको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो। एक सय भन्दा बढी राष्ट्रको सहभागिता रहेको बैठकलाई मन्त्री खड्काले २५ असोजमा सम्बोधन गरेका थिए। बैठकमा धनी र गरिब राष्ट्रबीचको बढ्दो असमानता, इन्धन तथा खाद्य संकट र कोभिड–१९ को महामारीले ल्याएका चुनौती जस्ता विषयमासमेत आफूले आफूले चर्चा गरेको खड्काले बताए।

असंलग्न आन्दोलनको स्थापनाकालदेखि नेपाल त्यसको सक्रिय सदस्यको रुपमा सक्रिय रहेको र असंलग्नताको सिद्धान्तलाई नेपालको संविधानले प्रमुख नीतिको रुपमा अंगीकार गरेको विषयलाई पनि आफूले राखेको उनले जानकारी दिए। खड्काले भने, “सम्बोधनको क्रममा मैले संख्यात्मक र नैतिक धरातलमा मजबुत असंलग्न आन्दोलनले विकासको क्रममा पछि परेका धेरै मुलुकका आवाजलाई समेटेर शान्तिपूर्ण, न्यायिक र समृद्ध विश्वको निर्माण गर्न जरुरी भएको औंल्याएको छु।”

सम्मेलनमा संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरुको कार्यशैलीको संरचनागत सुधार गरी आमूल परिवर्तन गर्न आन्दोलनले सक्रिय भूमिका खेल्नुपर्ने धारणा उनले राखेका थिए। बैठककै क्रममा महत्वपूर्ण द्वीपक्षीय भेटघाट भएको र भेटघाट नेपालको हितमा रहेको मन्त्री खड्काको दाबी छ।

उनले सर्बियाका राष्ट्रपति अलेक्सन्डर भसिस, सर्बिया र टर्कीका समकक्षीसँग पनि द्वीपक्षीय भेटवार्ता गरेका थिए। भेटमा मुख्यतया ती देश र नेपालबीचको व्यापार र आर्थिक लगानी, आर्थिक सहायता, सांस्कृतिक सम्बन्धका बारेमा छलफल भएको उनले बताए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved