काठमाडौं । कोची टस्कर्स केरला मुद्दामा बम्बई उच्च अदालतले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)लाई ठूलो झट्का दिएको छ ।
कोची टस्कर्स केरलाको पक्षमा ५३८ करोड भारुभन्दा बढीको मध्यस्थकर्ताको निर्णयलाई चुनौती दिने बीसीसीआईको याचिका उच्च अदालतले खारेज गरेको छ ।
न्यायाधीश आर चागलाले दिएको आदेशमा मध्यस्थकर्ताको निर्णयमा कुनै ‘स्पष्ट अवैधता’ नभएको भनिएको छ । साथै, अदालतले बीसीसीआईलाई उक्त रकम तिर्न भनेको छ ।
कोची टस्कर्स केरला फ्रेन्चाइजी रोन्डिभु स्पोर्ट्स वर्ल्ड (RSW) को नेतृत्वमा रहेको समूहलाई दिइएको थियो र पछि कोची क्रिकेट प्राइभेट लिमिटेड (KCPL) द्वारा सञ्चालित गरिएको थियो ।
टोलीले सन् २०११ मा आईपीएलमा भाग लिएको थियो तर अर्को वर्ष बीसीसीआईले सम्झौता रद्द गर्यो । KCPL र RSW ले आवश्यक बैंक ग्यारेन्टी पेस गर्न असफल भएको आरोपमा बीसीसीआईले सम्झौता रद्द गरेपछि विवाद बढेको थियो ।
फ्रेन्चाइज मालिकले बीसीसीआईको बैंक ग्यारेन्टी नवीकरण गर्न सकेनन् । मालिकले २६ मार्च २०११ सम्ममा बैंकमा ग्यारेन्टी जम्मा गर्नुपर्ने थियो । बोर्डले लगभग ६ महिना पर्ख्यो, तर १५६ करोड रुपैयाँको सम्झौता रकम प्राप्त भएन । जसका कारण बीसीसीआईले १९ सेप्टेम्बर २०११ मा वार्षिक बैठकमा टोलीसँग सम्झौता रद्द गर्यो ।
बोर्डको यो निर्णयविरुद्ध सन् २०१२ मा KCPL र RSW ले मध्यस्थता प्रक्रिया सुरु गरेका थिए । सन् २०१५ मा ट्रिब्युनलले बीसीसीआईले सम्झौता उल्लङ्घन गरेको र गलत तरिकाले ग्यारेन्टी रकम फिर्ता गरेको फैसला सुनायो ।
ट्रिब्युनलले बीसीसीआईको गल्तीका कारण KCPL लाई ३८४ करोड भारुको नोक्सान भएको र RSW लाई १५३ करोडको नोक्सान भएको बताएको थियो । अर्थात् ५३८ करोड भारुभन्दा बढीको कुल क्षतिपूर्तिको निर्णय गरिएको थियो, जसमा ब्याज र कानुनी खर्च पनि समावेश छ ।
कोची टस्कर्स आईपीएलको नवौं फ्रान्चाइजी थियो । यसलाई सन् २०१० मा रेन्डेजभस स्पोर्ट्स वर्ल्ड कम्पनीले १५५५ करोड रुपैयाँमा किनेको थियो । वास्तवमा बीसीसीआईले २०११ मा आईपीएल टोलीहरूको संख्या ८ बाट बढाएर १० पुर्याएको थियो ।
महेला जयवर्धनेको कप्तानीमा रहेको टोलीमा ब्रेन्डन म्याकुलम, रविन्द्र जडेजा, मुथैया मुरलीधरन, आरपी सिंह र श्रीशान्त जस्ता स्टार खेलाडीहरू थिए । यसका बावजुद पनि टोलीले १४ खेलमध्ये केवल ६ खेल जित्न सक्यो र अंक तालिकामा ८औं स्थानमा रहेर प्लेअफमा पुग्न सकेन ।
Facebook Comment
Comment