काठमाडौं । अमेरिकाले नेपालमा एमसीसीका योजनालाई पुन: निरन्तरता दिने संकेत गरेको छ ।
एमसीए नेपालले एक वक्तव्य जारी गर्दै कम्प्याक्टअन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधि (सम्भावित नयाँ प्रतिबद्धतासहित) संयुक्त राज्य अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले करदाताको पैसाको दुरुपयोग रोक्ने भन्दै ९० दिने समीक्षा अवधिका लागि एमसीसी रोक्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपालमा सञ्चालित परियोजनाको भविष्य अन्योलमा परेको थियो । तर, पछि नेपालमा सञ्चालन भइरहेका योजनालाई भने निरन्तरता दिने निर्णय भएको थियो ।
एमसीए नेपालले बुधबार एक वक्तव्य जारी गर्दै समीक्षा अवधिमा पनि परियोजनाका गतिविधिहरूलाई निरन्तरता दिन पाइएको उल्लेख गरेको छ । वक्तव्यमा भनिएको छ, “एमसीसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य र संवाद गर्दै समीक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत छन् ।”
वक्तव्यमा थप भनिएको छ, “संयुक्त राज्य अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवर्द्धन गर्ने प्रयासप्रति प्रतिबद्ध छ ।”
२०७४ भदौ २९ मा नेपाल र अमेरिकाबीच एमसीसी अनुदान सम्झौतामा हस्ताक्षर भएको थियो । तर, दलहरुबीच सहमति हुन नसक्दा २०७८ फागुन १५ गते संसद्ले ११ बुँदे व्याख्यात्मक घोषणासहित उक्त सम्झौता अनुमोदन गरेको थियो । नेपालमा एमसीसी कम्प्याक्ट ५०० मिलियन अमेरिकी डलरभन्दा बढीको विद्युत प्रसारण लाइन र सडक स्तरोन्नति परियोजनामा केन्द्रित छ ।
वक्तव्य –
फेब्रुअरी २०२५ मा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायता सम्बन्धी समिक्षा चलिरहेकै बेला लागु गरिएको ९०-दिने रोकमा एमसिसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसिसिको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिनुभएको थियो। यस अपवादले एमसिसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समिक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको छ। एमसिसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य र संवाद गर्दै यस समिक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत छन्।
एमसिसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसिए-नेपाल सँग निकट सहकार्य गर्दै कम्प्याक्ट अन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधिहरू (सम्भावित नयाँ प्रतिबद्धतासहित) संयुक्त राज्य अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको छ।
संयुक्त राज्य अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवर्द्धन गर्ने प्रयासप्रति प्रतिबद्ध छ।
Facebook Comment
Comment