काठमाडौं । सहकारीको रकम अपचलन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
वीरगञ्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालय, पर्साले लामिछानेलाई ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ हिनामिना गरेको अभियोगपत्रमा उल्लेख गरेको छ ।
आइतबार पर्सा जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा लामिछानेलाई सहकारी र सङ्गठित अपराधमा कारबाही गर्न माग गरिएको छ ।
त्यस्तै, गोर्खा मिडिया नेटवर्कमा सञ्चालक रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविराज जोशीलाईसमेत सहकारी र सङ्गठित अपराध मुद्दामा कारबाहीको माग गरिएको छ । जोशीलाई ७ करोड २० लाख ९८ हजार रुपैयाँको बिगो माग गरिएको छ ।
प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो ।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछाने रुपन्देहीको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा पूर्पक्षका लागि थुनामा छन् ।
Facebook Comment
Comment