तीनकुने घटना : प्रसाई सहित ७ जनालाई थुना, ३२ जनालाई धरौटीमा छोड्न आदेश

नेपालभ्युज

तीनकुने घटना : प्रसाई सहित ७ जनालाई थुना, ३२ जनालाई धरौटीमा छोड्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनामा संलग्न दुर्गा प्रसाई सहित ७ जनालाई थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाई सहित ७ जनालाई थुनामा पठाउदा ३२ जनालाई भने धरौटीमा छोड्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठका अनुसार, प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो ।

तीनकुने घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यीमध्ये चार जना नाबालक भएकाले तिनीहरूलाई भक्तपुर पठाइएको थियो ।

११ जेठमा मुद्दा दायर भएपछि २० जेठदेखि काठमाडौं जिल्ला अदालतमा प्रारम्भिक बहस सुरु भएको थियो । बयान सकिएपछि न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस निरन्तर चलिरहेको थियो ।

हाल ३९ जना प्रतिवादी हिरासतमा रहेका छन् । यीमध्ये ११ जनालाई आपराधिक उपद्रवको मात्र मुद्दा लगाइएको छ र तिनीहरू धरौटी बुझाएर रिहा भइसकेका छन् ।

अदालतको यो निर्णयले तीनकुने घटनाका धेरैजसो अभियुक्तहरूलाई अस्थायी राहत प्रदान गरेको छ । तर मुद्दाको मुख्य सुनुवाइ भने जारी रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved