बेसी झर्‍यो यार्चागुम्बा, १७ सय मिटरमै भेटिन थाल्यो 

सामान्यतया, समुद्री सतहबाट तीन हजार ५०० मिटरदेखि पाँच हजार ५०० मिटरसम्मको उचाइमा यार्सागुम्बा पाइन्छ । तर, भर्खरै पाल्पाको रम्भा गाउँपालिकामा यार्चागुम्बा भेटिएको स्थानको उचाइ भने एक हजार ७९४ मिटर मात्र छ । 

बेसी झर्‍यो यार्चागुम्बा, १७ सय मिटरमै भेटिन थाल्यो 

काठमाडौं । प्राय हिमाली भेगमा पाइने जडिबुटी यार्चागुम्बा पहाडी भेगमा भेटिएको छ । पाल्पाको रम्भा गाउँपालिकाको वडा नं २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा स्थानीयले यार्चागुम्बा फेला पारेका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुन्तला लगाउनका लागि झाडी फाँड्ने क्रममा खाल्डो खन्दै जाँदा स्थानीयले यार्चाजस्तो देखिने वस्तु भेटेका थिए । उक्त वस्तुलाई स्थानीयले घरमा ल्याएपछि गाउँपालिकाले परीक्षणका लागि काठमाडौं पठाएको थियो । परीक्षण गरेपछि उक्त जडिबुटी यार्चागुम्बा पुष्टि भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरको खुमलटारका डीएनए विभाग प्रमुख दिनेशकुमार झाले बताए ।

‘पाल्पामा भेटिएको जडिबुटी यार्चागुम्बा नै हो भन्ने पुष्टि भएको छ, तर विभागको पनि नियमअनुसार त्यसको गुणस्तरका बारेमा अहिले भन्न मिल्दैन,’ प्रमुख झाले नेपालभ्युजसँग भने ।

वनस्पति विभागकी वरिष्ठ योजना अधिकृत सङ्गीता स्वांर यार्चागुम्बा प्राय हिमाली भेगका पाटनमा पाइने बताउँछिन् । तर, पाल्पामा भेटिएको यार्चा कुन गुणस्तर र प्रजातिको हो भनेर वनस्पति विभागमा नै परीक्षण गर्नुपर्ने उनको भनाइ छ । ‘विभागमा ल्याएर परीक्षण गरेपछि मात्रै कुन प्रजाति र कति गुणस्तरको हो थाहा हुन्छ,’ उनी भन्छिन्, ‘कम उचाइमा पनि पाइन्छ तर त्यो बहुमूल्य भने हुँदैन । नेपालमा नै ३०/३२ प्रजातिको यार्चागुम्बा पाइन्छ । पाल्पामा भेटिएको यार्चागुम्बाको गुणस्तरबारे परीक्षण नगरी भन्न सकिँदैन ।’

उनले यसअघि आफू विभागकै ल्याबमा काम गर्दा पनि एकपटक यस्तै कम उचाइमा यार्चागुम्बा भेटिएको बताइन् । सो यार्चागुम्बाको नाम ‘नेपाल लेन्सिस’ राखिएको जानकारी दिइन् ।

सामान्यत: समुद्री सतहबाट तीन हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा पाइन्छ । तर, भर्खरै पाल्पाको रम्भा गाउँपालिकामा यार्चागुम्बा भेटिएको स्थानको उचाइ भने एक हजार ७९४ मिटर मात्र छ ।

भेटिएको ठाउँमा स्थानीयलाई प्रवेश निषेध

आफ्नो ठाउँमा यार्चागुम्बा भेटिएपछि स्थानीयहरू उत्साहित भएका छन् । यार्चा भेटाउने स्थानीय मानसिंह सोमे भन्छन्, ‘लेकमा सुन्तला खेती गर्ने भनेर हामी खाडल खन्दै थियौँ, यार्चागुम्बाजस्तो वस्तु भेटाइयो । घर ल्याएर सोधिखोजी गर्दा पनि के हो भन्ने पत्ता लागेन । यदि यार्चागुम्बा नै रहेछ हामीलाई झन् राम्रो भयो ।’

यार्चागुम्बा भेटिएपछि अरू स्थानीयहरू पनि लेकतिर गएका थिए ।

यार्चागुम्बा भेट्ने स्थानीयहरूले फोटो खिचेर फेसबुकमा राखेपछि हल्ला फैलिएको र त्यसपछि मात्रै स्थानीय तहले जानकारी पाएको थियो । रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठ भन्छिन्, ‘फेसबुकमा फोटो राखेपछि मात्रै हामीले जानकारी पायौं । त्यसलगत्तै पालिका अध्यक्षसहित प्रहरी प्रशासन, वनस्पति विभाग लगायत विभिन्न क्षेत्रका विज्ञ टोलीले निरीक्षण गरेपछि ल्याब टेस्टका लागि काठमाडौं पठायौं ।’

उनले यार्चागुम्बा पाउने हल्लासँगै टिप्न जाने स्थानीयको भीड लाग्न थालेपछि सो स्थानमा स्थानीयलगायत सर्वसाधारणलाई प्रवेश निषेध गरिएको जानकारी दिइन् ।

उपाध्यक्ष श्रेष्ठले यार्सागुम्बा नै प्रमाणित भइसकेकाले अब कसरी व्यवस्थापन गर्ने भन्ने कुरा कार्यपालिकाको बैठकबाट निर्णय हुने बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved