रुसले युक्रेनमाथि प्रहार गर्‍यो ४०० भन्दा बढी ड्रोन र ४० मिसाइल

नेपालभ्युज

रुसले युक्रेनमाथि प्रहार गर्‍यो ४०० भन्दा बढी ड्रोन र ४० मिसाइल

काठमाडौं । रुसले युक्रेनमाथि ४०० भन्दा बढी ड्रोन र ४० भन्दा बढी मिसाइल प्रहार गरेको छ ।

युक्रेनको राजधानी र देशका अन्य भागहरूमा शुक्रबार भएको उक्त आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै ४९ जना घाइते भएको बीबीसीले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई युक्रेनले हालै रुसी हवाई अड्डाहरूमा गरेको आक्रमणको जवाफ दिने चेतावनी दिएपछि यो आक्रमण भएको हो ।

कीभका साथै लुत्स्क शहर र देशको उत्तर-पश्चिममा रहेको टेर्नोपिल क्षेत्रलाई लक्षित गरेर आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

यता, रुसको रक्षा मन्त्रालयले “कीभ शासनद्वारा गरिएको आतंकवादी कार्य” को प्रतिक्रियामा आक्रमण गरिएको दाबी गरेको छ ।

यसअघि युक्रेनले पनि आइतबार ठूलो संख्यामा ड्रोनहरू प्रयोग गरी रुसमाथि हमला गरेको थियो । उसले आफ्नो भूमिबाट हजारौं किलोमिटर टाढा रहेका रुसी सेनाका चार हवाई अड्डामा आक्रमण गरेको थियो । उक्त आक्रमणमा रुसका ४१ वटा विमान (टीयू-९५, टीयू-२२ र ए-५०) ध्वस्त पारिएको युक्रेनको दाबी छ । यीमध्ये टीयू-९५ र टीयू-२२ रुसका बमवर्षक विमान (बम्बर) हुन् ।

युक्रेनले रुसमाथिको पछिल्लो हमलालाई ‘इस्पाइडर्स वेब’ नाम दिएको छ । युक्रेनको गुप्तचर संस्था एसबियूले १८ महिनाभन्दा लामो योजनाअनुसार आइतबार उक्त हमला गरेको जेलेन्स्कीले बताएका थिए । उनको प्रत्यक्ष निगरानीमा अति गोप्य ढंगले योजना कार्यान्वयन गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved