विद्यार्थीलाई आकर्षित गरिरहेका बुटवलका सरकारी विद्यालय

विद्यार्थीलाई आकर्षित गरिरहेका बुटवलका सरकारी विद्यालय

बुटवल ।  अभिभावकहरूमा छोराछोरीलाई अंग्रेजी बोल्ने र पढाइ हुने निजी विद्यालयमा पढाए मात्र जान्ने, सुन्ने र  बुझ्ने हुन्छन् भन्ने भ्रम थियो/ छ ।  भ्रम पनि किन नहोस्, प्राय: सामूदायिक स्कुलहरू अव्यवस्थित, अस्तव्यस्त र भताभुङ्ग थिए । सामूदायिक स्कुलमा कमजोर आर्थिक स्थिति भएका विद्यार्थीहरू मात्र पढ्ने थलोका रूपमा चित्रण गरिन्थ्यो । तर, रुपन्देहीको बुटवल उपमहानगरभित्रका सामूदायिक विद्यालयहरूको मुहार फेरिएको छ । हरेक अभिभावक र विद्यार्थीहरूको चिन्तन पनि फेरिएको छ । पहिले शैक्षिक वातावरण ध्वस्त रहेका सामूदायिक विद्यालयले यति बेला स्तरीय पाठनपाठनसहित भौतिक प्रगतिमा फड्को मारेका छन् । नतिजा पनि राम्रो दिएका छन् ।

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय धेरै विद्यार्थी रहेको एक सरकारी विद्यालय हो । कालिका विद्यालयले शैक्षिक नतिजामा पनि देशभर अग्रणी स्थान कायम गरेको छ । यस विद्यालयमा हाल ७ हजार ८ सय १ विद्यार्थी अध्ययनरत छन् । चालु शैक्षिक सत्र २०८२ मा मात्रै ७ सय नयाँ विद्यार्थी भर्ना भएका छन् ।

कालिका विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । बाल विकासमा ३५, कक्षा १ देखि ३ सम्म ४०, कक्षा ४ र ५ मा ४५ तथा ६ माथिका कक्षाका प्रत्येक समूहमा ४८ जनाभन्दा बढी विद्यार्थी राख्न नहुने नीति छ । कक्षा ११ र १२ मा यहाँ शिक्षा, विज्ञान, कानुन, प्राविधिक शिक्षा र व्यवस्थापन सङ्कायमा पठनपाठन हुन्छ ।

शैक्षिक सत्र २०८० को एसईईमा ६ सय ७३ जना सहभागी भएका थिए । जसमध्ये ४ जीपीए १ जनाले ल्याए भने ३.६५ देखि ४ जीपीएसम्म १ सय ६६जना, ३.२५ देखि ३.६ जीपीएसम्म २ सय ३० जना, २.८५ जीपीएदेखि ३.८ जीपीएसम्म १ सय ९८ जना र २.४५ जीपीएदेखि २.८ जीपीएसम्म ६९ जनाले ल्याए । अनुर्त्तीण ९ जना भए ।

त्यस्तै प्लस टुतर्फ १ हजार ६ सय २२ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये १ हजार ५ सय २७ जना उर्त्तीण भए । कालीकामा उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीको होडबाजी नै छ । विज्ञान विषयको परीक्षामा सहभागी ४ सय ४ जनामध्ये ३ सय ९६ जना उर्त्तीण भए । व्यवस्थापन समूहतर्फ ९ सय २८ जनामध्ये ८ सय ९९ जना उर्त्तीण भए ।

प्राविधिकतर्फ ४९ जनामध्ये ४४ जना विद्यार्थीले आफूलाई अब्बल सावित गरे । कानुन समूहतर्फ ८० जनामध्ये  ७४ जना उर्त्तीण  भए । मानविकी समूहतर्फ  ४३ जनामध्ये २७ जना पास भए भने शिक्षा शास्त्र समूहतर्फ अन्तर्गत १ सय १८ जना परीक्षामा सहभागीमध्ये ८७ जना विद्यार्थीहरू उर्त्तीण भएका थिए ।

भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरले यो विद्यालयलाई सरकारले नमूना विद्यालय घोषणा गरेको छ । कालिका माविमा विपन्न तथा शहीद परिवारका विद्यार्थीले निःशुल्क खान र छात्रावासमा बस्न पाउँछन् । तर, सिट सीमित भएकोले छात्रावासमा विद्यार्थीको चाप थेग्न निकै सकस भएको विद्यालयका प्राचार्य दिनेश थापाले बताए । ‘डिजिटल प्रविधिको प्रयोगसँगै विद्यार्थीमैत्री कक्षा कोठामा सिक्ने सिकाउने कार्यमा जोड दिएका छौं,’ उनले भने ।

बुटवलमा सफल यो मात्र एक विद्यालय होइन । बुटवल—५ मा रहेको कान्ति माविले दिनप्रतिदिन शैक्षिक प्रगति गरिरहेको छ । दक्ष जनशक्ति, आवश्यक भौतिक संरचना र नतिजामा ल्याएको सुधारका कारण विद्यार्थीको चाप बढ्दो छ । कान्ति माविमा अहिले ५ हजार ७ सय विद्यार्थी अध्ययरत छन् । नयाँ शैक्षिक सत्र २०८२ मा ७ सय विद्यार्थी बाहिरबाट पढ्नका लागि भर्ना भएका छन् ।

सुबिधा सम्पन्न बगैंचासहितको खेल मैदान, विज्ञान प्रयोगशाला,स्मार्ट बोर्ड प्रोजेक्टर, शुद्ध पिउने पानी, क्यान्टिन, पुस्ताकालय लगाएत ठूलाठूला भवनसँगै विषयविज्ञ दक्ष जनशक्तिका कारण शिक्षा क्षेत्रमा कान्तिले नयाँ क्रान्ति ल्याएको प्राचार्य गोविन्द ज्ञवालीले बताए ।

विद्यार्थीको चाप बढेका कारण यो वर्ष पनि सयौँ विद्यार्थीलाई भर्ना गर्न नसकी फिर्ता पठाउनु परेको  अनुभव प्राचार्य ज्ञवालीसँग छ । कान्तिमा विद्यार्थीको संख्या मात्रै होइन नतिजा पनि उत्कृष्ट छ । शैक्षिक सत्र २०८०  खुल्ला र नियमित गरी एसईईमा ४ सय ८८ जना विद्यार्थी सहभागी भएका थिए ।

तीमध्ये ४ सय जना पास भए भने, ७८ जना पुरक परीक्षा दिएर उर्त्तीण  भएका थिए । जसमध्ये ३.६ जीपीए भन्दा माथि ५४ जना , ३.६ जीपीए भन्दा तल ३.२ जीपीएभन्दा माथि १ सय ८३ जना, ३.२ जीपीएभन्दा तल २.८ जीपीएभन्दा माथि १ सय ३८ र २.८ जीपीएभन्दा तल २.४ जीपीएमाथि २५ जनाले ल्याएका थिए ।

त्यस्तै कक्षा १२ मा ८ सय ८ जना सहभागीमध्ये ७ सय ५६ जना उर्त्तीण भएका थिए । विज्ञान विषयमा २ सय ४५ मध्ये २ सय १५ जना ( ७८.७६ प्रतिशत) उर्त्तीण भए । व्यवस्थापन समूहतर्फ ४ सय ५४ जनामध्ये ४ सय २ जना (८८.५५ प्रतिशत ) उर्त्तीण भए । त्यस्तै, शिक्षा समूहतर्फ ५८ प्रतिशत उर्त्तीण भए भने मानविकी समूहतर्फ ५३.७ प्रतिशत उत्तिर्ण भए ।

‘विद्यार्थी भर्ना कार्यक्रममा स्थानीयलाई प्राथमिकता दिएका छौं । टाढाबाट आएका बाहिर बस्न गाह्रो भएका विद्यार्थीहरूलाई न्यूनतम शुल्कमा छात्रावासको व्यस्था गरेका छौं । अहिले पनि १ सयभन्दा बढी विद्यार्थीले छात्राबासको सेवा लिनुभएको छ । हामीले दिने सेवा सुविधामा कुनै कमी हुन दिएका छैनौं’,  प्राचार्य ज्ञवालीको  दाबी छ ।

कुनै बेला टिनको छाप्रो रहेको नवीन औद्योगिक कद्दरबहादुर रिता माविमा  अहिले भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर पनि अब्बल बन्दै गएको छ । कुनै जमानामा अभिभावक विद्यार्थी भर्ना गर्न मान्दैनथेँ ।  तर, अहिले यो त्यही विद्यालय हो, जहाँ विद्यार्थी भर्ना गर्न पाउनु नै अभिभावकका लागि ठूलो उपलब्धि हुन्छ । एक दशकको अवधिमा यसरी परिवर्तन आयो, नयाँ शैक्षिक सत्रको मुखमा प्रधानाध्यापक तथा व्यवस्थापन समितिले मोबाइल अफ गरेर बस्नुपर्छ ।  ‘नविनमा पढाउछु भन्ने कुरा नै हाम्रा लागि गर्वको विषय हो,’ विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले भने ।

वि.सं २०६४ सालमा ९ सय ८ जना विद्यार्थी रहेको नविनमा अहिले ४ हजार ७ सय २ जना विद्यार्थी अध्ययन गर्छन् । २ विगाहा क्षेत्रफलमा रहेको नविनमा अंग्रेजी माध्यममा मन्टेश्वरीदेखि कक्षा १२ कक्षासम्म पढाइ हुन्छ । विद्यालयमा ११ र १२ कक्षामा विज्ञान, सिभिल इन्जिनियरिङ्ग, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कानुन र शिक्षा विषयमा नेपाली र अग्रेजीमा पढाइ हुँदै आएको छ ।

विद्यालयको भौतिक संरचनासँगै विद्यार्थीको नतिजा पनि उत्कृष्ट रहेको छ । शैक्षिक सत्र २०८०मा २ सय ३१ जना विद्यार्थीहरू एसईईको परीक्षामा सामेल भएका थिए । त्यसमध्ये १ सय ७७ जना मात्र उर्त्तीण भए । जसमा ए प्लस ल्याउने विद्यार्थीको संख्या १९ जना थियो । ‘ए’ ग्रेडमा ५५ जना, ‘बि’ प्लस ७० जना, ‘बी’ ग्रेडमा २७ जना र ग्रेड बृद्धि परीक्षामा सहभागी ६ जना विद्यार्थीहरू उर्त्तीण भएका थिए ।

त्यस्तै कक्षा १२ को परीक्षामा नविनबाट ९ सय ५४ जना विद्यार्थीले सहभागी रहेका मध्ये ७ सय ९८ जना उर्त्तीण भएका थिए । ए प्लस ल्याउने विद्यार्थीको संख्या १७ जना, ‘ए’ ग्रेडमा १ सय ४३ जना, ‘बी’ प्लस ३ सय १४ जना, ‘बी’ ग्रेडमा १ सय ३७ ,सि प्लस १४ जना र ग्रेड वृद्धि परीक्षामा सामेल भएर १ सय ७३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै ,स्कुलका २५ वटा सटर छन् । सटरबाट मासिक करिब १ लाख ३० हजार रुपैयाँ आम्दानीसमेत हुने गरेको छ ।  नविनमा पढाइसँगै अतिरिक्त साँस्कृतिक प्रशिक्षण तेक्वान्दो, करातेलगायत  विभिन्न विधामा रहेर अतिरिक्त क्रियाकलापहरू निरन्तर भैरहन्छन् । स्कुलले ट्राफिक नियमसम्बन्धी कार्यक्रम, सुरक्षित यात्राका विषयमा सचेतनामुलूक कार्यक्रम, मेयरसँग विद्यार्थी कार्यक्रम, माइन्युट लेखन तालिम, एप्लिकेसन लेखन लगायतका जीवनउपयोगी तालिम लिएर विद्यार्थीलाई दक्ष बनाउने गरेको प्रधानाध्यापक बस्नेतले बताए ।

कुनै समय पुरानो र जीर्ण भवन, बस्नका लागि कक्षा कोठा समेत नभएको, विद्यार्थी अभावमा विद्यालय नै धरसायी अवस्थामा पुगेको बुटवल ११ को नहरपुर मावि यतिबेला भने खुला र स्तरीय खेल मैदान, भव्य र आकर्षक भवन, सुविधा सम्पन्न पुस्तकालय र विज्ञान प्रयोगशाला । अझ त्यसमाथि व्यवस्थित कक्षाकोठासँगै विद्यालयको शैक्षिक गुणस्तरमा पनि सुधार गरी नयाँ र परिवर्तित विद्यालयका रूपमा स्थापित भई विद्यार्थीको रोजाइमा पर्न थालेको छ ।

शैक्षिक सत्र २०८२ मा विद्यार्थीको सङ्ख्या बढ्ने अपेक्षा गरिए पनि १ महिना लामो शिक्षक आन्दोलनका कारण केही कमी भए पनि १ सयको हाराहारीमा विद्यार्थी भर्ना भएको विद्यालयका प्राचार्य धनीश्वर गौतमले बताए । विद्यालयमा ९ सय ५० जना विद्यार्थी छन् । कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन शास्त्रमा पढाइ हुने गरेको छ । शैक्षिक गुणस्तर राम्रो हुन थालेपछि अभिभावक र विद्यार्थी सबैको रोजाइमा परेसँगै यसको सान जोगाउन आफूहरूमाथि चुनौती थपिएको र शैक्षिक गुणस्तर कायम गर्न थप मिहिनेत गरिरहेको गौतमले बताए ।

बुटवलका शहरी क्षेत्रका स्कुल मात्र होइन ,ग्रामीण क्षेत्रका स्कुलमा पनि बिकास र प्रगतिको लहर आएको छ । त्यसको नमूना हो बुटवल–१९ मनोहरापुरस्थित अमर माध्यमिक विद्यालय । सुन्दर भौतिक संरचना भएको विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म पूर्णतया अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ ।

साथै कक्षा ४ देखि १० सम्म स्मार्ट कक्षा कोठासहित प्रोजेक्टरको प्रयोग गरी पढाइ हुन्छ । सुविधा सम्पन्न कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशाला समेत छ । यति धेरै सेवा सुविधा हुँदा पनि विद्यालयमा विद्यार्थी संख्या न्यून भए पछि शिक्षकहरूको बैठकले ‘आफ्ना सन्तति आफ्नै विद्यालयमा’ भन्ने अभियान चलाउने निर्णय गर्‍यो । सोहीअनुसार रुपन्देही जिल्लामा रहेका स्कुलहरूमध्ये पृथक निर्णय गरी सबै शिक्षकहरूले अहिले आफ्ना सन्तानलाई त्यहि स्कुलमा भर्ना गरेका छन् । फलस्वरुप शैक्षिक सत्र २०८२ को भर्ना अभियानमा ९३ जना विद्यार्थी भर्ना भएको उक्त विद्यालयमा २ सय २० जना विद्यार्थी संख्या रहेको छ ।

विद्यालयका प्रधानाध्यापक देवराज पौडेलका अनुसार हाल कक्षा ८ सम्म रहेको अंग्रेजी माध्यमलाई क्रमश: कक्षा १० सम्म पुर्‍याउने लक्ष्य रहेको छ । ‘आफ्ना सन्तति आफ्नै विद्यालयमा’ भन्ने अभियानमार्फत सामूदायिक विद्यालयप्रति विश्वास जगाउँदै शिक्षाको गुणस्तरमा आमूल परिवर्तन ल्याउने प्रयासमा शिक्षक अभिभाव तथा जनप्रनिधिले हातेमालो गरेका छौं,’ प्रधानाध्यापक पौडेलले भने ।

कालिका, कान्ति, नविनलगायतका विद्यालयहरू त एक उदाहरण मात्र हुन् । पछिल्लो समय बुटवलका सामूदायिक विद्यालयहरू देशमै उत्कृष्ट र नमूनायोग्य बनेका छन् । बुटवल उपमहानगरपालिकाको शिक्षा शाखाका अनुसार बुटवलमा ३९ सामूदायिक विद्यालय छन् । संस्थागततर्फ ५९ वटा विद्यालय रहेका छन् । बुटवलमा सामूदायिक र संस्थागत गरी ७३ हजार विद्यार्थी अध्ययनरत छन् । बुटवलमा स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बुटवल’ कक्षा १ देखि ८ सम्म लागू भएको छ । सामूदायिक विद्यालयमा अझ रात्रि मावि, महिला विद्यालय, खुला विद्यालय, विशेष विद्यालय (सुस्तमनस्थिति), गुरुकुल विद्याश्रम र चारवटा मदरसा विद्यालय सञ्चालनमा छन् ।

त्यसो त बुटवल उपमहानगरपालिकाले कुल बजेटको २१ प्रतिशत शिक्षामा विनियोजन गर्दै आएको छ । उपमहानगरपालिकाले प्रदेश र सङ्घीय सरकारले शैक्षिक गुणस्तर बढाउन चालेका कदमलाई बल पुग्ने गरी शिक्षा नीति तयार गरेर लागू गरेको छ ।

विद्यालयको शैक्षिक गुणस्तर बढाउन अभियानको रूपमा काम गरिएको उपमहानगरपालिका माध्यमिक शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले बताए । ‘भौतिक पूर्वाधार विकाससँगै विद्यालयमा दक्ष जनशक्तिको उपलब्धतामा प्राथमिकता दिइएको छ,’ उनले भने ।

त्यस्तै, शैक्षिक गुणस्तर विकासबाटै दक्ष जनशक्ति उत्पादन हुने र त्यसबाटै समुन्नत बुटवलको अवधारणालाई साकार पार्न सहज हुने उपमहानगर प्रमुख खेलराज पाण्डेयले बताए । ‘मानवीय विकास र समृद्ध बुटवलको परिकल्पनालाई साकार पार्न दीर्घकालीन सोच बनाएर शिक्षामा विशेष लगानी गरेको छौं । सामूदायिक विद्यालयमा गरेको लगानी खेर जान नदिन शिक्षक, अभिभाव, सरोकारवाला निकाय र पालीकाले निरन्तर समन्वय र सहकार्य गरेका छौं । त्यसमा आर्थिक रूपमा विपन्न, दलित तथा सिमान्तकृतसँगै लक्षित समुदायका छात्रछात्राका लागि विशेष व्यवस्था गरेको छ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved