विशाल ग्रुपको बदमासीमा विभागको नजरअन्दाज : दर्ताविनै ल्याक्टोज मिल्क खुलेआम विक्री

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उजुरी नआउँदासम्म अनुगमनमा जान नमिल्ने तर्क गरेको छ ।

विशाल ग्रुपको बदमासीमा विभागको नजरअन्दाज : दर्ताविनै ल्याक्टोज मिल्क खुलेआम विक्री

काठमाडौं । विशाल ग्रुपले शिशुलाई खुवाइने दूध(ल्याक्टोजिन) नेपालमा दर्ता नै नगरी मनोमानी रूपमा बिक्री वितरण गरिरहेको छ ।

यो व्यापारिक समूहले नेपालमा दर्ता नगरीकन ‘एसएमए प्रो ब्रेस्ट मिल्क’, ‘ल्याक्टोजिन प्रो’ र ‘सिमिल्याक’ नामको ‘फर्मुला दूध’ बिक्री–वितरण गरिरहेको हो । एसएमए प्रो र ल्याक्टोजिन प्रो ६ महिनादेखि एक वर्षसम्मका बच्चालाई खुवाइन्छ । त्यस्तै, सिमिल्याक जन्मेको ६ महिनासम्मका शिशुलाई खुवाइने फर्मुला दूध हो ।

विशाल ग्रुपको इन्डेक्स डिष्ट्रिब्युटर्स प्रा.लि उत्पादक तथा वितरक रहेका यी फर्मुला दूधको कारोबार अवैध रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बताएको छ । विभागले भनेको छ, ‘एसएमए प्रो ब्रेस्ट मिल्क’, ‘ल्याक्टोजिन प्रो’ र ‘सिमिल्याक’नामक बस्तु बिक्री वितरणका लागि यस विभागको आहारापुरक खाद्य पदार्थ नियमन शाखामा इन्डेक्स डिष्ट्रिब्युटर्स प्रा.लि को नाममा दर्ता भएको रेकर्डबाट नदेखिएको ब्यहोरा अनुरोध छ ।’

विभागले दिएको सूचनाअनुसार विभागको आहारापुरक खाद्यपदार्थ नियमन शाखामा ‘एसएमए प्रो ब्रेस्ट मिल्क’, ‘ल्याक्टोजिन प्रो’ र ‘सिमिल्याक’ ले विक्री वितरणको अनुमति पाएको छैन ।

विभागमा दर्ता नभए पनि शिशुलाई खुवाइने यी सामाग्री भाटभटेनी लगायतका ठूला सुपरमार्केटमा ‘आमाको दूध’को नाममा विक्री भइरहेका छन् । विशाल समूहको अटेरीबारे यसअघि पनि नेपालभ्युजले समाचार प्रकाशित गरेको थियो ।

दर्ता नगरी मार्टमा बेच्न राखिएको फर्मुला दूध

कानुनको अटेरी

‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण ऐन २०४९’ अनुसार विदेशमा उत्पादित सामग्री नेपाली बजारमा बिक्री–वितरण गर्नका लागि नेपालमा अनिवार्य रूपमा दर्ता हुनुपर्छ ।

साथै, यस्ता सामग्रीमा नेपाली भाषामा यी सामग्रीको सम्पूर्ण विवरण लेखिएको हुनुपर्छ । तर, ‘एसएमए प्रो ब्रेस्ट मिल्क’, ‘ल्याक्टोजिन प्रो’ र ‘सिमिल्याक’ बिक्री वितरण गर्दा विशाल ग्रुपले यो नियम उल्लङ्घन गरेको छ ।

विशाल ग्रुपले शिशुको स्वास्थ्यमाथि गरिरहेको खेलबाडबारे नेपालभ्युजले यसअगाडि पनि लेखेको थियो ।

विशाल ग्रुपको बदमासी : कानुन मिचेर ल्याकटोज मिल्क बजारमा 

गत वर्षको १२ चैतमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वाणिज्य, आपूर्ति र तथा उपभोक्ता हित संरक्षण विभागलाई विशाल ग्रुपले अवैध रूपमा ‘फर्मुला दूध’ बिक्री वितरण गरिरहेको जानकारी दिएकी थिइन उपभोक्ता अधिकारकर्मी बन्दना श्रेष्ठले ।

त्यसको केही दिनपछि वाणिज्य, आपूर्ति, तथा उपभोक्ता हित संरक्षण विभागले विशाल ग्रुपलाई शिशुलाई खुवाइने सबै सामग्रीमा अनिवार्य रूपमा नेपाली भाषामा लेभल लगाउन निर्देशन दिएको थियो । तर, विशाल ग्रुपले अहिलेसम्म विभागको निर्देशन पालना गरेको छैन ।

दर्ता नगरी मार्टमा बेच्न राखिएको फर्मुला दूध
चौतर्फी प्रश्नपछि दर्ताको प्रक्रिया अघि बढ्दै

विशाल ग्रुपले नेपाल भित्र्याएको ‘एसएमए प्रो फर्स्ट इन्फान्ट’ नामको फर्मुला दूध बिक्री गर्छ शुभ टीका इन्टरप्राइजेज ।

शुभ टीका इन्टरप्राइजेजका एक कर्मचारीले नेपालभ्युजसँग भने, ‘दूधको कम्पनी दर्ता हो होइन त्यो त हामीलाई थाहा हुँदैन । हामी त विशाल ग्रुपबाट लिएर सिधैं मार्केटमा बेच्छौँ । दर्ता भए, नभएको विशाल ग्रुपलाई नै सोध्नुपर्छ । यदि दर्ता नभएको हो भने हामी पनि प्रश्न उठाउँछौँ ।’

विशाल ग्रुपले विक्री अघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता गर्नुपर्ने प्रावधानबारे बल्ल थाहा पाएको प्रतिक्रिया दिएको छ । यसका लागि कानुन मामिला हेर्ने पुण्य न्यौपानेले प्रक्रिया अघि बढाइरहेको कम्पनीले जानकारी दिएको छ । ‘हामीलाई पहिले विक्रीअघि अनिवार्य दर्ता र नेपालीमा लेबलिङ्बारे थाहा थिएन । विभिन्न माध्यमबाट प्रश्न उठेपछि अहिले पुण्य न्यौपानेसहितका अन्य सदस्यले दर्ता प्रक्रिया अघि बढाइरहनुभएको छ,’ एसएमए प्रो को बजार व्यवस्थापन हेर्ने विशाल ग्रुपका प्रतिनिधि जोन कर्माले बताए ।

विशाल ग्रुपले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको यो पहिलोपटक होइन । यसअघि म्याद गुज्रिएका खाद्य वस्तुमा नयाँ लेबल लगाएर बजारमा पठाएको थियो ।

असोज २०७७ मा महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएका चकलेट, बिस्कुट लगायत खाद्यवस्तुमा विशाल ग्रुपले नयाँ लेबल लगाएर बजारमा पठाएको फेला पारेको थियो ।

बरामद गरिएका चकलेट, बिस्कुट जस्ता सामग्रीको आयात र प्रवर्द्धनमा आफूहरूको संलग्नता भए पनि नयाँ लेबल लगाउने काम आफूले नगरेको भन्दै विशाल ग्रुपले चोखिने प्रयास गरेको थियो ।

विशाल ग्रुपलाई कारबाही गर्न उजुरी नआएको बाहना

कानुन मिचेर शिशुको स्वास्थ्यमा खेलबाड गरिरहेको विषयमा विशाल ग्रुपलाई किन कारबाही नगरेको भन्दै हामीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सोध्यौँ । उजुरी आएपछि मात्र आफूहरू अनुगमनमा जाने गरेको बताए विभागका उप–महानिरीक्षक सोमकान्त रिजालले ।

उजुरी आए आफूहरू अनुगमनका लागि तत्कालै ‘फिल्ड’मा खटिने दाबी गरे उनले । उनी भन्छन्, ‘कसैले एउटा उजुरी दिए हामी तत्कालै मान्छे पठाइहाल्छौँ ।’ उनले उजुरी परेपछि अनुगमन गरिने बताए पनि  यसअघि  उद्योग, वाणिज्य तथा आपूर्ति  मन्त्रालयअन्तर्गतको अर्को विभाग वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा भने निवेदन परेको थियो ।  उपभोक्ता अधिकारकर्मी बन्दना श्रेष्ठले निवेदन दिएकी थिइन् । त्यसपछि सूचना जारी गर्दै विभागले विदेशी उत्पादनहरूमा नेपाली भाषामा लेबल लगाउन निर्देशन दिएको थियो । विशाल ग्रुपले विभागको यो निर्देशन अवज्ञा गरिरहे पनि उसमाथि कारबाही भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved