यातायात व्यवसायीको आन्दोलनप्रति असन्तुष्ट राइडरहरू

नेपालभ्युज

यातायात व्यवसायीको आन्दोलनप्रति असन्तुष्ट राइडरहरू

काठमाडौं । तीन वर्षदेखि राइड सेयरिङ एपमार्फत यात्रुलाई गन्तव्यसम्म पुर्‍याउँदै आफ्नो जीवन चलाइरहेका राइडर समीर राई सार्वजनिक सवारी सञ्चालकहरूले राइड सेयरिङविरुद्ध उत्रिएकोमा असन्तुष्टि पाेख्छन्-  सबैले काम गरी खान पाउनुपर्‍यो नि !

सार्वजनिक सवारी साधन सञ्चालक व्यवसायीहरूले निजी सवारी साधनले राइड सेयरिङ सेवा दिन नपाउने भन्दै विरोध गरिरहँदा समीरलाई आफ्नो रोजीरोटी गुम्ने डर छ ।

काठमाडौंमा राइड सेयरिङको काम गर्दै आएका समीर भन्छन्, ‘तीन वर्ष भइसक्यो मैले पठाओ, इन्ड्राइभ चलाउन सुरु गरेको । केही काम नहुँदा खाने बाटो यही हो । बन्द गरेर के पाउँछन् ? कमसेकम हामीजस्ता बेरोजगार युवाले गरिखाने बाटो त पाएका छौँ ।’

उनी सार्वजनिक सवारी साधनले यात्रुलाई गन्तव्यमा पुर्‍याउन नसक्ने भएकाले राइड सेयरिङसँग रिस गरेको बताउँछन् । सबैले काम गरी खान पाउनुपर्ने उनको माग छ ।

‘कहिले बसिरहेको ठाउँमा आएर ट्राफिकले चिट काट्दिने, कहिले यात्रुको गाली सुन्नुपर्ने, हुँदाहुँदै हामीलाई काम नै गर्न नदिने ? यो चाहिँ अति भयो । जताबाट पनि राइडर नै नराम्रो,’ समीर गुनासो पोख्छन् ।

त्यस्तै, अर्का राइडर आकाश पार्की राइड सेयरिङलाई बन्दभन्दा पनि नियमन गर्न आवश्यक रहेको बताउँछन् । ‘नियमनको चाहिँ आवश्यक छ, यसमा मनपरी भने भएकै हो । अब हेर्नु न, ७० रुपैयाँको बाटोमा चोक चोकमा गएर यात्रुसँग कसरी बार्गेनिङ गर्छन् राइडरहरू, १०० रुपैयाँ, १५० रुपैयाँ भन्छन् ।’

उनी सरकारले सार्वजनिक यातायातको जस्तै राइड सेयरिङमा पनि भाडादर निर्धारण गर्नुपर्ने बताउँछन् । आज सार्वजनिक सवारी बन्दको अवस्थामा जसरी राइडरहरूले भाडादर उच्च बनाए यी र यस्तै कारण पनि राइड सेयरिङमा नियमन आवश्यक रहेको उनको भनाइ छ ।

आइतबार सार्वजनिक सवारी बन्दको घोषणा भएसँगै आज बिहानैबाट सडक लगभग सुनसान थिए । सार्वजनिक सवारी साधन नचल्दा आमसर्वसाधारणलाई सास्ती भइरहेको छ ।

तर, काठमाडौं उपत्यका लगायत राइड सेयरिङ सेवा उपलब्ध भएको स्थानमा भने महँगो शुल्क तिरेर यात्रु यात्रा गर्न बाध्य भए । सोही कारण पनि नियमनको आवश्यक रहेको उनी बताउँछन् ।

‘पोखरामा पनि पठाओ चल्छ, अब त्यहाँ हेर्नु है, बुक गर्‍यो राइडरले फोन गरेर यति पैसा दिन्छौँ भने आउँछु नत्र क्यान्सिल गर्दिन्छु भन्छ, काठमाडौंकै बस स्टपमा हेर्नु न कतिसम्मको बार्गेनिङ चलिरहेको हुन्छ,’ पार्की भन्छन् ।

सोमबार बिहानैबाट देशभर सार्वजनिक यातायात नचलिरहेको अवस्थामा राइड सेयरिङले चर्को शुल्कमा सेवा दिइरहेको विषयमा आलोचना भइरहेको छ । तर, प्राय: मानिसहरू राइड सेयरिङमा नियमनको आवश्यकता रहेको औंल्यारहेका छन् ।

यसै प्रसङ्गमा राजेश चाम्लिङ राई सामाजिक सञ्जालमा लेख्छन्, ‘आम मानिसहरूलाई सहज हुने गरी नीति नियम बनाउने हो । त्यसले कुनै व्यवसायलाई असर गर्छ भने ती व्यवसायले विकल्पसहित आफूलाई समयानुकूल विकसित गर्नुपर्छ । पेजर व्यवसाय बन्द हुने भयो भनेर मोबाइल सञ्चालन गर्न नदिएको भए हामी कहाँ हुन्थ्यौँ । पत्रिकाको भविष्य खतरामा पर्‍यो भनेर अनलाइन पोर्टलविरुद्ध आन्दोलन गर्न मिल्छ ?’

त्यस्तै, प्रमिला राई पनि सामाजिक सञ्जालमा लेख्छिन्, ‘समय अनुकूल व्यावसायिक रूपरेखा रणनीति परिवर्तन गर्नुपर्छ । उनीहरूको व्यवसाय धरापमा पर्‍यो भने नयाँ रणनीति ल्याउने हो । यो आन्दोलनको म चैँ विपक्षमा हो । पठाओ, इन्ड्राइभले छिटो छरितो सेवा दिइरहेको छ भने किन बन्द गराउने ? बरु व्यवस्थित ऐन तथा नियमावली चैँ ल्याउनुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved