बुटवल । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ‘नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र सर्वोच्चता’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकारकर्मी कृष्ण पहाडीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालको सर्वाधिक षड्यन्त्रकारी व्यक्ति बताएका छन् ।
पहाडीले गत चैत १५ गते पूर्व राजा ज्ञानेन्द्र शाहकै योजनामा २०-२५ हजार मानिसको भीड जम्मा गरी संवेदनशील क्षेत्र कब्जा गरेर ‘नागरिकले विद्रोह गरेको’ बहाना बनाइ सेनामार्फत राज्यसत्ता कब्जा गर्ने रणनीति रहेको आरोप लगाए । उनले राजावादीहरूले कानुनको दुरुपयोगसँगै सेनालाई उचाल्ने काम राज्यविरुद्धको अपराध भएको बताए ।
पहाडीले ज्ञानेन्द्र शाह सेनाको सर्वोच्चता स्थापित गरी नागरिकको स्वामित्वमा स्थापित लोकतान्त्रिक गणतन्त्र मास्ने षड्यन्त्रमा लागेको दाबी गरे । उनले संविधानमा नागरिक सर्वोच्चतालाई स्थापित गरेको बताउँदै सेनाको सर्वोच्चता स्वीकार्य नहुने स्पष्ट पारे । पहाडीले गणतन्त्रको विकल्प गणतन्त्र नै भएको जिकिर गर्दै नागरिकको स्वामित्वमा ल्याएको गणतन्त्र बलियो बनाउन प्रमुख दलहरू एकजुट हुन आवश्यक रहेकोमा जोड दिए ।
नागरिक आन्दोलनका अगुवा समेत रहेका पहाडीले सुशासनलाई एजेन्डा बनाएर नयाँ अनुहारसहित सर्वदलीय सरकार गठन गर्नुपर्ने र त्यही सर्वदलीय संयन्त्रले २०७२ को संविधानका कतिपय सवालमा संशोधन गर्न अति आवश्यक रहेको भन्दै दलहरूले त्यसमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले नेताहरूले आफूलाई सुधार गरेर नयाँ अनुहारको सरकार र सुशासनलाई कायम गर्न सके नेपाली जनताले वाहवाही गर्ने बताए । पछिल्लो समय केही नेताहरूमा ‘श्री ५ को भूत सवार’ हुँदा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।
सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति रेणुका पौडेल, पूर्व सभापति गोविन्द खनाल, महासचिव प्रकाश शाही, पूर्व वरिष्ठ उपसभापति कृष्ण रावल, सचिव डीपी खनाल, अनुशासन आयोगका सदस्य लालहरी पाण्डे, रुपन्देही सभापति अर्जुन ज्ञवाली, निवर्तमान सभापति कृष्ण भट्टराई लगायतले मुलुक कुशासनले ग्रसित भएमा लोकतान्त्रिक मूल्यमान्यता संकटमा पर्ने चर्चा गर्दै शान्ति समाजले मानवअधिकार संरक्षण र सुशासन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।
Facebook Comment
Comment