बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका हुन् ?

नेपालभ्युज

बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका हुन् ?

काठमाडौं । यतिखेर सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको ‘खबर भाइरल’ छ । विभिन्न फेसबुक पेज, ग्रुप र आईडीबाट मेयर बालेन र ज्ञानेन्द्रबीच भेट भएको पोष्ट भइरहेको छ ।

बालेन र पूर्वराजा ज्ञानेन्द्रबीच भेट भएको भनिएका पोष्टमा उनीहरूले कहाँ र कहिले भेट गरे भन्ने खुलाइको छैन । साथै भेटमा के कुराकानी भयो भनेर पनि खुलेकाे छैन ।

नीरज भण्डारी नामको आईडीबाट बालेन ज्ञानेन्द्रबीच भेट भयो भन्दै गरिएको पोष्टमा स्रोतसमेत उल्लेख गरिएको छ । स्रोतका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सह–महामन्त्री ऋषिराज देवकोटाको नाम लेखिएको छ ।

राप्रपा सह–महामन्त्री ऋषीराज देवकोटाले ३ बजेर ३८ मिनेटमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार र मेयर बालेनबीच भेटवार्ता’ सबैको जय होस…’ भनेर पोष्ट गरेका छन् ।

ऋषीराज देवकोटाको फेसबुक पोष्ट

फेसबुकमा बालेन र ज्ञानेन्द्रबीच भेट भएको भन्दै गरिएका पोष्टको भाषा एउटै छ । सबै पोष्टमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार र मेयर बालेन शाहबीच भेटवार्ता सम्पन्न भएको छ । राष्ट्र, जनता र स्वाभिमानको सेवामा समर्पित यो भेट ऐतिहासिक बनोस् ! नयाँ पुस्ता र गौरवशाली इतिहासबीचको यो संवाद राष्ट्र पुनर्निर्माणको दिशामा एक महत्वपूर्ण संकेत बन्न सकोस् ! सबैको जय होस् ।’

फेसबुकमा बालेन र ज्ञानेन्द्रबीच भेट भएका पोष्ट खोजी गर्दा सबैले माथिकै भाषा भएको पोष्ट गरेको पाइएको छ ।

बालेन र ज्ञानेन्द्रबीच भेट भएको हो ? भन्दै हामीले ज्ञानेन्द्र शाहका संवाद सचिव फणीराज पाठकलाई सोध्यौं । उनले ‘बालेन र ज्ञानेन्द्रबीच भेट भएको विषय आफूलाई थाहा नभएको बताए ।

यसपछि हामीले काठमाडौं महानगरका मेयर बालेनलाई सम्पर्क गर्‍यौँ । तर, उनको फोन उठेन। उनका स्वकीय सचिव भूपदेव शाहलाई सम्पर्क गर्न खोज्यौं । शाहको फोन उठेन, एसएमएसको पनि जवाफ आएन । त्यसपछि हामीले बालेनका मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंलाई सम्पर्क गर्यौं । उनले पनि बालेन र ज्ञानेन्द्रबीच भेट भए/नभएको आफूलाई जानकारी नभएको बताए ।

फेसबुकमा सबैभन्दा पहिले बालेन र ज्ञानेन्द्रबीच भेट भएको पोष्ट गर्ने राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटालाई हामीले सम्पर्क गर्‍यौँ ।

उनले भने, ‘ज्ञानेन्द्र शाह र बालेनबीच भेट भएको हो । समय र लोकेसन म बताउँदिन् ।’

‘भेट कहिले भएको हो ? आज, हिजो ?’ हामीले सोध्यौं ।

‘हिजोदेखि आजको बीचमा,’ देवकोटाले छोटो जवाफ दिए ।

‘निर्मल निवासमा भेट भएको हो कि बाहिर ?’ हामीले सोध्यौं ।

‘त्यो त म भन्दिन,’ देवकोटाले भने ।

‘भेटमा के कुरा भयो ?’ हामीले देवकोटालाई सोध्यौं ।

‘के कुरा भयो त समयले बताइहाल्छ नि,’ देवकोटाले भने ।

महानगरका मेयर बालेन शाहका मिडिया सहजकर्ता र पूर्व राजाका संवाद सचिवले भेटको विषयमा जानकारी नभएको बताएको हुँदा हामी बालेन र ज्ञानेन्द्रबीच भेट भएको हो या होइन भनेर स्वतन्त्र रुपमा पुष्टि गर्न सकेनौँ ।

‘राजन्तन्त्र पुनस्थापना समीति’ले १५ जेठमा काठमाडौंमा आन्दोलन गर्दैछ । आन्दोलन अगाडि बालेन र ज्ञानेन्द्रबीच भेट भएको ‘खबर’ फेसबुकमा भाइरल भइरहेको छ ।  यसअगाडि १५ चैतको आन्दोलन तीनकुने क्षेत्रमा फोहोर गरेको, सरकारी संरचनामा क्षति पुर्याएको भन्दै काठमाडौं महानगरले ८ लाख रुपैयाँ जरिवाना तोकेको थियो । महानगरले जरिवानाको पत्र निर्मल निवास पठाएपनि ज्ञानेन्द्रले पत्र बुझ्न मानेनन् । महानगरले तोकेको जरिवाना ज्ञानेन्द्रले अझैसम्म तिरेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved