काठमाडौं । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा छलफल भएको छ ।
समितिको बैठक कक्षमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको हो ।
उक्त छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याउन आफू गम्भीर भएर लागेको बताए । उनले निरन्तर छलफल गरी विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याइने प्रतिबद्धता जनाए ।
‘विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्याउन म गम्भीर तरिकाले लागेको छु । निरन्तर छलफल गरेर यो विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याउनुपर्छ । विधेयकको छलफल सोमबारसम्म जारी नै राखौं,’ उनले भने ।
साथै, विधेयकमा रहेका कतिपय विषयमा राजनीतिक तहमा पनि सहमति खोज्नुपर्ने देखिएको मन्त्री पन्तले बताए । ‘राजनीतिक तहमा पनि मैले विद्यालय शिक्षा विधेयकलाई सहमति नजिक पुर्याउन खोजेको छु,’ उनले थपे ।
मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुङ्गोमा पुर्याउने गरी छलफल अघि बढाउन सुझाव दिए ।
समितिका सभापति अम्बरबहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिए । उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरी चरणबद्ध रुपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गरे ।
Facebook Comment
Comment