काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले १५ दिनभित्र पुल निर्माण सम्पन्न नभए ठेकेदारलाई खोलामा गाड्ने धम्की दिएका छन् ।
बारास्थित पर्सौनी र कलैया जोड्ने बंगरी नदीमाथि पुल बनाउन १३ वर्षअघि ठेक्का लागेको थियो । तर, उक्त पुल अहिलेसम्म पनि निर्माण सम्पन्न भइसकेको छैन ।
मङ्गलबार सोही पुल निरीक्षणमा पुगेका श्रेष्ठले अबको १५ दिनभित्र पुल निर्माण नगरे खोलामा गाड्ने चेतावनी दिएका हुन् । ‘मैले एकदम भद्र भएर बोल्या छु । १५ दिनभित्र पुल बनाइसक्नुपर्छ । मैले नत्र खोलामा गाड्छु,’ उनले भने ।
भोलि बिहानदेखि तीव्र गतिमा काम गर्न उनले निर्देशनसमेत दिए । उक्त पुल पूरै सम्पन्न नहुँदा मोटरसाइकल दुर्घटना भएर मान्छे घाइते भएको र त्यसको उपचार पनि आफैँले गरेकोसमेत श्रेष्ठले बताए ।
सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरूप्रसाद अधिकारी र सांसद श्रेष्ठलगायतको टोली मङ्गलबार निरीक्षणमा पुगेका थिए । पुलछेउमा दायाँबायाँ ग्याबिन लगाउने र माटो भर्ने काम बाँकी रहेको छ । पुल भने बनिसकेको छ । उक्त पुल निर्माणको जिम्मा इलाइटमोना जेभीले पाएको थियो ।
Facebook Comment
Comment