उपमेयर डंगोलको जोडबलमा राजु पाण्डेलाई सोधियो स्पष्टीकरण

नेपालभ्युज

उपमेयर डंगोलको जोडबलमा राजु पाण्डेलाई सोधियो स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेकी छन् ।

पाण्डेलाई सोधिएको स्पष्टीकरण पत्रमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा असहयोग गरेको आरोप छ ।

काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि विदामा बसेका प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईं २९ चैतमा महानगरमा हाजिर हुन आएका थिए । उपमेयर डंगोलकै नेतृत्वमा गुरागाईं हाजिर हुन भनेर महानगर आएका थिए ।

तर, गुरागाईंलाई महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा बाधा गरेको थियो । यही विषयमा डंगोलले प्रमुख प्रशासकिय अधिकृतमार्फत पाण्डेलाई स्पष्टीकरण सोधेकी हुन् ।

पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण पत्रमा प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सवारी साधनमा ह्वील लक किन गरेको ? नगर प्रहरी बल परिचालन गरेर गुरागाईंलाई कार्यालय छिर्न अवरोध गर्दै आतङ्क सृजना किन गरेको ? कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरूको बाटो छेकेर अमर्यादित र अभद्र व्यवहार किन गरेको भनेर पाण्डेलाई प्रश्न गरिएको छ ।

यसबाहेक प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको र उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत ताला किन नखोलेको ? प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्ने हाजिर पुस्तिका कब्जामा किन लिएको ?

काठमाडौं महानगरपालिकाको कर्मचारीको रूपमा प्रमुख प्रशासकीय अधिकृतको निर्देशन पालना गर्नुपर्नेमा पाण्डेले कर्मचारी आचरण र अनुशासन पालना नगरी अनुशासनहीन कार्य गरेको भन्दै स्पष्टीकरण सोधिएको छ ।

सञ्चारमाध्यममा बयानबाजी गरेको, उपमेयर र अन्य जनप्रतिनिधिहरूसँग सवाल जवाफ गरेर अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिइएको आदेश पालना नगरेको र नियोजित रूपमा वातावरणलाई उत्तेजित बनाएर थप द्वन्द्व निम्त्याउने प्रयास गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरी ऐन, २०८० को दफा ५ बमोजिम नगर प्रहरीले आफ्नो रेखदेख, नियन्त्रण, र निर्देशनमा रही काम गर्नुपर्ने र सम्बन्धित अधिकारीको आदेश पालना गर्नुपर्ने व्यवस्था छ ।

७ दिनभित्र दिनभित्र स्पष्टीकरण बुझाउन पाण्डेलाई निर्देशन दिइएको छ । स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभएमा नगर प्रहरी बलको जिम्मेवारीबाट हटाउने भनिएको छ ।

पाण्डेलाई सोधिएको स्पष्टीकरण पत्रमा लेखिएको छ, ‘माथि उल्लेखित भए बमोजिमका गैह्रकानुनी क्रियाकलाप कुन उद्देश्य पूर्ति गर्ने हेतुले किन गर्नु भएको हो ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved