शहीद घोषणामा त्रुटि भएको छ : प्रचण्ड

नेपालभ्युज

शहीद घोषणामा त्रुटि भएको छ : प्रचण्ड

रूकुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीले रूकुमको चौरजहारीमा जनयुद्धका घाइते, अपाङ्ग, शहीद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तरक्रिया गरेको छ ।

चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी जनयुद्धपीडितहरूले आफूहरूले भोगिरहेका समस्या तथा राज्यबाट पाउनुपर्ने अधिकारका विषयमा आफ्नो धारणा राखेका छन् ।

घाइते अपाङ्गको उपचार, बेपत्ता व्यक्तिहरूको राज्यद्वारा मान्यता, शहीद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मका विषयमा अझै ध्यान दिनुपर्ने माग गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले पनि जनताको पीडा बुझ्ने, संवाद गर्ने र पार्टीभित्रको समीक्षा गर्दै नयाँ रूपमै जनतामा जान अभियान सञ्चालन गरिएको बताए ।

उनले पार्टीले विगतमा शहीद र घाइते परिवारका पक्षमा विभिन्न कामहरू गरेको जानकारी दिँदै शहीद घोषणामा केन्द्रबाट तल तलको आँकडा मागिएको भएपनि विवरण पठाउँदा केही त्रुटिका कारण सबैलाई समेट्न नसकेको बताए ।

अध्यक्ष प्रचण्डले (सत्य निरूपण तथा मेलमिलाप आयोग) सम्बन्धी विधेयकमा भएको ढिलाइप्रति दुःख व्यक्त गर्दै हाल बनेको समितिले अब कार्यविधिअनुसार काम गर्नुपर्ने बताए ।

बेपत्ता व्यक्तिहरूलाई पनि शहीदसरह मान्नुपर्ने र तिनको सम्मानसाथ क्षतिपूर्ति राज्यले दिनुपर्ने पनि उनको भनाइ छ ।

उनले भने, ‘हामी क्रान्ति पूरा गरेर होइन, सम्झौताबाट आएको अवस्था हो । अहिलेको गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न सबैको साथ आवश्यक छ । म समाजवादी क्रान्तिको यात्रामा कमि कमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाउँछु ।’

अभियान टोलीले मुलुकका विभिन्न ठाउँमा पुगेर जनयुद्धका पीडितहरूसँग प्रत्यक्ष संवाद गर्ने, पार्टीको कमजोरीहरूको समीक्षा गर्ने र जनतामा विश्वास पुनःस्थापना गर्ने उद्देश्य रहेको जानकारी गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved