काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ।
बैंककस्थित तेरथाइ क्रिकेट मैदानमा बिहान पौने ९ बजे सुरु भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कप्तान इन्दु बर्माले टस जितेर थाई टोलीलाई ब्याटिङको निम्तो दिएकी हुन्।
नेपाल र थाइल्याण्ड दुवैले यसअघि नै ग्लोबल छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। आजको यो खेल एसिया छनोटको उपाधि कसले जित्छ भन्ने निर्धारण गर्ने निर्णायक भिडन्त हुनेछ।
सोमबार भएको खेलमा नेपालले यूएईलाई पराजित गर्दै इतिहास रचेको थियो। यो जितसँगै नेपाल पहिलोपटक एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुग्न सफल भएको हो। त्यसअघि आइतबार थाइल्याण्डले यूएईलाई हराएर अघिल्लो चरणमा आफ्नो स्थान पक्का गरेको थियो।
थाई टोली समूह चरणका दुई खेलमा विजयी भएको थियो भने दुई खेल वर्षाका कारण रद्द भएका थिए। सुपर थ्री अन्तर्गतको पहिलो खेलमा थाइल्याण्डले यूएईलाई पराजित गरेको थियो। यसरी थाइल्याण्ड प्रतियोगितामा अपराजित रहेको छ।
समूह चरणमा नेपालले बहराइनलाई दुवै खेलमा पराजित गरेको थियो भने हङकङसँग एक खेलमा हार बेहोरेको थियो। हङकङसँगको अर्को एक खेल र बहराइनसँगका दुवै खेल वर्षाले प्रभावित भएका थिए। यद्यपि, धेरै जित निकालेको आधारमा नेपाल सुपर थ्री मा प्रवेश गरेको थियो।
Facebook Comment
Comment