हेटौँडा । बिहान ११ बजे बैठक बस्ने गरी आजका लागि आह्वान भएको बागमती प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन दिउँसो एक बजेसम्म पनि सुरु हुन सकेको छैन । केही समयअघि मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र माओवादी केन्द्रका दल नेता शालिकराम जमकट्टेलबीच आजको बैठकबारे छलफल भएको थियो ।
छलफलमा सहभागी एक नेताले बैठक केही समयपछि बस्ने भनिए पनि बजेटबारे सबै ७ वटा दलको तर्फबाट शुभकामना दिएर बैठक सक्ने बताए ।
प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले जेठ ५ गते बिहान ११ बजेका लागि १६औं अधिवेशनका लागि आह्वान गरेका थिए ।
प्रदेश सरकारको वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
यसअघि प्रदेशसभाको हिउँदे अधिवेशन गत चैत २० गते अन्त्य गरिएको थियो । सत्तापक्ष र प्रतिपक्षी दलहरूबीचको विवादका कारण चैत १९ र २० गतेका लागि आह्वान गरिएको बैठकसमेत बस्न नसकेपछि सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको थियो ।
Facebook Comment
Comment