काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेबाहेकका न्यायाधीशहरूको इजलासमा राख्न आदेश भएको छ ।
बन्दी प्रत्यक्षीकरण जस्तो संवेदनशील मुद्दा पटक-पटक हेर्न नमिल्नेमा परेपछि सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासबाट यस्तो आइतबारआदेश आएको हो ।
सामान्यतया, बन्दी प्रत्यक्षीकरणको रिट पहिलो प्राथमिकतामा पर्ने गर्दछ। गैरकानुनी थुनामा राखेको दाबीसहित कुनै पनि व्यक्तिलाई तत्काल रिहा गराउन बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराइन्छ । लामिछानेको यो मुद्दा पाँचपटक हेर्न नमिल्नेमा परिसकेको छ।
लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा वैशाख ७ मा दर्ता भएको थियो । करिब एक महिनासम्म पनि उक्त मुद्दा निरूपण हुन नसकेपछि सर्वोच्चले यस्तो आदेश दिएको हो ।
सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले बताए । न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासले हेर्न नमिल्नेबाहेकका न्यायाधीशहरूले गोला तान्ने गरी व्यवस्था गर्न आदेश भएको हो । ‘पाँचौँ चोटी हेर्न नमिल्ने देखिएको रहेछ । त्यसमा हेर्न हेर्न मिल्नेलाई गोला तान्न दिन भन्ने आशयको आदेश छ,’ उनले भने।
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सुरूमा वैशाख ८ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको थियो । तर उक्त इजलासले हेर्न मिलेको थिएन ।
यस्तो थियो हेर्न नमिल्ने श्रृंखला
वैशाख ७ मा दर्ता भएको बन्दी प्रत्यक्षीकरण मुद्दामा वैशाख ८ मा पहिलो सुनुवाई तोकिएको थियो । न्यायाधीश हरि फुयालको इजलासमा तोकिएको उक्त पेसी हेर्न नमिल्नेमा पुग्यो । फुयालले लामिछानेको पासपोर्टसम्बन्धी मुद्दामा सुनुवाई गरेकाले नहेर्ने निर्णय लिएका थिए ।
फुयालको इजलासमा तोकिएको भोलिपल्ट अर्थात् ९ बैसाखमा लामिछानेको मुद्दा हेर्न मिल्ने गरी पेसी चढ्यो । र, न्यायाधीश अव्दुल अजीज मुसलमानले कारण देखाउ आदेश जारी गरे । तर, त्यसपछि तोकिएका लगातार चारवटा इजलासमा भने लामिछानेको मुद्दा हेर्न नमिल्नेमै थियो ।
कारण देखाउ आदेशपछि वैशाख २८ मा न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा पोखरेलको कारण हेर्न नमिल्ने भयो । त्यसपछि वैशाख ३० न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिल प्रसाद श्रेष्ठको इजलासमा पेस भयो ।
पहिलो पेसीमै फुयालको इजलासमा हेर्न नमिल्नेमा रहेको मुद्दा पुन: फुयाल सहितको इजलासमा पेसी तोकियो । फलत: हेर्न नमिल्ने भयो । त्यसपछि फेरि, ३१ वैशाखमा न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासमा लामिछानेको मुद्दा तोकियो ।
दोहोर्याएर सोही मुद्दा हेर्न नमिल्ने भएकाले न्यायाधीश मुसलमानले समेत यो मुद्दा हेर्न मिल्दैन थियो । र, कारण देखाऊ आदेश दिएका न्यायाधीश मुसलमानसहितको इजलासमा परेपछि हेर्न नमिल्नेमा पुग्यो ।
Facebook Comment
Comment