काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति नतोकिए पनि भावी नेतृत्व लिने गरी नेताहरूले गतिविधि बढाइरहेका बेला आइतबार संस्थापनपक्षका ६ जना नेताहरूले छलफल गरेका छन् ।
पूर्वउपसभापति गोपालमान श्रेष्ठको सानेपास्थित निवासमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वउपसभापति प्रकाशमान सिंह, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र डा. शशांक कोराला र पार्टी प्रवक्तासमेत रहेका पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतबीच छलफल भएको हो । यी सबै नेताहरूले आफूलाई भावी सभापतिका रूपमा दाबेदारी गर्दै आएका छन् । सिटौला, निधि र सिंह यसअघि नै सभापतिको उम्मेदवार भई चुनाव लडी सकेका छन् भने श्रेष्ठ, कोइराला र महत भने सभापति उम्मेदवार भएका छैनन् ।
यसअघि पनि निधि, कोइराला र सिंहबीच भेट हुने गरेको थियो । अहिलेको भेटमा थप तीन जना नेताहरू पनि यस्तो छलफलमा सहभागी भएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवा पार्टीको विधानअनुसार फेरि सभापतिको उम्मेदवार नबन्ने भएकाले उनीपक्षीय नेताहरूको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । तर देउवाले हालसम्म कुनै पनि नेतालाई सभापतिको उम्मेदवारका लागि संकेतसमेत गरेका छैनन् ।
आइतबारको भेटमा पार्टीको महाधिवेशनबारे छलफल भएको डा. महतले बताए । उनले नेपाल भ्युजसँग भने, ‘गोपालमान दाइले बोलाउनु भएर गएका हौँ । पार्टीको अधिवेशन, समसामयिक राजनीतिबारे शेयरिङ भयो ।’
महतले यसअघि नै सभापतिको दौडमा रहेका कुनै नेताभन्दा आफू कुनै पनि हिसाबमा कमजोर नरहेको बताएका थिए । तर, आइतबारको भेटमा भावी उम्मेदवारबारे भने कुरा नभएको उनले दाबी गरे ।
यो भेटमा सहभागी भएका मध्ये डा. कोइरलाले आफू सभापतिको उम्मेदवार बन्ने यसअघि नै बताइसकेका छन् । उनी देउवाको समर्थनमा सभापतिको उम्मेदवार बन्ने आशामा छन् ।
डा. महतले यो भेटमा भावी नेतृत्वभन्दा पनि महाधिवेशन गर्न कहाँ कहाँ चुनौती छन् भन्ने विषयमा बढी छलफल भएको बताए । उनले आआफ्ना अनुभवहरू आदानप्रदान गरिएको उल्लेख गर्दै सभापतिसँग पनि भेट्ने कुरा भएको बताए । उनले सरकार सञ्चालनका विषयमा पनि छलफल भएको बताए । उनले भने, ‘सरकारको प्रभावकारिकता बढाउने विषयमा छलफल भयो । केही सुझावहरू दिनुपर्छ भन्ने भएको छ । औपचारिक होइन, अनौपचारिक सुझाव दिने कुरा छ ।’
Facebook Comment
Comment