रामेछाप । अघिल्लो वर्षको भदौ र असोज महिनामा तामाकोशी नदीमा आएको बाढीले निक्कै क्षति पुर्यायो । नदीले एकपटक कटान गरिसकेकाले फेरी त्यस्तै बाढीको जोखिम भएपछि बस्ती खतरामा विपदक त्रास छ । नदीले बस्तीमा क्षति पुर्याउने भएपछि मन्थली नगरपालिका–८ गाइखुराका माझी समुदायका मान्छेहरू बस्ती जोगाउन श्रमदानमा जुटेका छन् ।
छिटफुट परिरहने पानीका कारण नदीको सतह अस्वाभाविक बढ्न थालेपछि माझी समुदायको बैठक बसेको थियो । स्थानीय बालकृष्ण माझीका अनुसार बैठकले बाढीलाई छेक्न ‘ग्याभिन वाल’ लगाउन पाए गाउँ जोगिन्थ्यो भन्ने निष्कर्ष निकालेको थियो । सोहीअनुसार तयारी पनि नगरेको होइन, तर बजेट अभावले तारजाली समेत खरिद सक्ने अवस्था रहेन । ‘ग्याभिन वाल लगाउन जाली खोजियो, विपद् व्यवस्थापन समिति रामेछाप मार्फत पाँच लाख रुपैँया आयो । करिब १५ मिटर जाली भर्ने, खेल मैदान सम्याउने र खानेपानीको इनार संरक्षण गर्ने काम गर्दा सो पैसा सकियो,’ माझी भन्छन्, ‘पूरै गाउँ संरक्षण गर्नेगरी तारजाली पाइएन, पुगेन ।’

ल्याएको तारजाली स्थानीयले भरे । तर तारजालीको पर्खाल अपुरो भयो ।
‘अब के गर्ने ? बुढापाकाहरूले फुको गाह्रो लगाउने उपाय निकाले । पहिला-पहिला पनि चौडा खालका फुको पर्खाल लगाउने चलन थियो । त्यस्ता फुको पर्खालले नदी कटान जोगाउन निक्कै सहयोग गरेका थिए । हाम्रो गाउँमा पनि पुरानो फुको गाह्रो थियो । त्यसैले फुको गाह्रो लगाउने निष्कर्षमा पुगेका हौँ’, बालकृष्णले भने ।

त्यसपछि गाइखुराका माझीहरू घरलौरी श्रमदानमा निस्किएको उनको भनाइ छ । श्रम गर्नेहरूका लागि तिहारमा देउसी खेलेर जम्मा गरेको रकमबाट खाजाको बन्दोबस्त गरिएको जानकारी उनले दिए ।
बिहान ५ बजेदेखि नदीका ढुङ्गा नतात्दासम्म श्रमदान गर्न गाउँलेहरू जुट्ने गरेको उनको भनाइ छ । ‘लगातार एक हप्तासम्म ४० देखि ५० जनासम्मले श्रमदान गरेका छौँ,’ उनको भनाइ छ ।
श्रमदान गरेरै स्थानीयले लामो सुक्खा पर्खाल लगाएका छन् । सो पर्खालले गाइखुराको ८५ घरधुरीलाई जोगाउने स्थानीयको विश्वास छ ।






Facebook Comment
Comment