काठमाडौं । उत्पादनमूलक उद्योग क्रमशः आर्थिक लयमा फर्कँदै गर्दा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड (Reliance Spinning Mills Ltd.) ले आक्रामक सुधार गर्दै प्रतिस्पर्धी कम्पनीभन्दा उल्लेखनीय प्रगति हासिल गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा कम्पनीले सबैभन्दा उच्च प्रतिसेयर आम्दानी (ईपीएस) कायम गर्दै उत्पादनमूलक क्षेत्रको नेतृत्व लिएको छ ।
रिलायन्सको ईपीएस तेस्रो त्रैमाससम्ममा २५ रुपैयाँ ४९ पैसा पुगेको छ, जुन सिमेन्ट र स्पिनिङ क्षेत्रका अन्य ठूला कम्पनीहरू जस्तै सर्वोत्तम, शिवम्, सोनापुर र घोराही सिमेन्टभन्दा निकै बढी हो । अघिल्ला त्रैमासमा क्रमशः १९.९५ र २२.१९ रुपैयाँ रहेको ईपीएस बढ्दै तेस्रो त्रैमासमा उच्चतम बिन्दुमा पुगेको छ ।
पाँच वर्षे प्रदर्शनमा रिलायन्स अग्रस्थानमै
विगत पाँच आर्थिक वर्षको विवरण हेर्दा पनि रिलायन्स लगातार राम्रो प्रदर्शन गर्दै आएको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको ईपीएस ५३.९१ रुपैयाँ थियो भने २०७८/७९ मा ६१.१२ रुपैयाँ पुग्यो । त्यसपछि २०७९/८० मा ५४.३४ रुपैयाँ र २०८०/८१ मा घटेर २.९५ रुपैयाँमा झरे पनि चालु आवमा फेरि सशक्त पुनरागमन गरेको हो ।
यही अवधिमा अन्य कम्पनीहरूको ईपीएस तुलनात्मक रूपमा कमजोर देखिएको छ । २०७८/७९ मा शिवम् सिमेन्टको ईपीएस १५.६७ रुपैयाँ, सर्वोत्तमको ११.५५, घोराहीको ६.८१ र सोनापुरको ६.४७ रुपैयाँ मात्र थियो । २०८०/८१ मा त घोराही र सोनापुर सिमेन्टको ईपीएस ऋणात्मक हुँदै -३१.६८ र -१६.९१ रुपैयाँमा झरेको थियो ।
चालु आवको तेस्रो त्रैमाससम्ममा रिलायन्सको ईपीएस २५.४९ रुपैयाँ रहेको छ भने सर्वोत्तम सिमेन्टको १६.१६, शिवम् सिमेन्टको ९.७९, सोनापुरको -२.४७ र घोराहीको -१२.१४ रुपैयाँ छ ।
कुल नाफा र कारोबारमा उल्लेख्य सुधार
रिलायन्सले चालु आवको चैत मसान्तसम्ममा १ अर्ब २ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ८६ करोड ५० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । यस वर्ष कम्पनीको करपछिको नाफा पनि ३२ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, चालु आवमा रिलायन्सले ७ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । यद्यपि, यो अघिल्लो आवको ९ अर्ब २० करोडको तुलनामा थोरै कम हो, तर नाफामा भने उल्लेख्य सुधार देखिएको छ ।
आईपीओको तयारी
विसं. २०५४ मा स्थापना भएको रिलायन्स स्पिनिङले हालसम्म १५ अर्ब रुपैयाँभन्दा बढी लगानी भित्र्याइसकेको छ ।
कम्पनीमा ४ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । अब कम्पनीले बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी गरिरहेको छ ।
रिलायन्सले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरमा ११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ, जसअनुसार करिब ९५ करोड रुपैयाँ संकलन गर्ने कम्पनीको योजना छ ।
Facebook Comment
Comment